पेप्सीकोलामा मध्यरातमा भीषण आगलागी, चारभन्दा बढी ग्यास सिलिन्डर विस्फोट

दियोपोस्ट संवाददाता

काठमाडौँ । काठमाडौं महानगरपालिका-३२ स्थित पेप्सीकोलामा मध्यरातमा भीषण आगलागी भएको छ । पेप्सीकोला फुटबल ग्राउन्ड नजिकै रहेको एक कटेजमा बिहीबार राति करिब साढे १२ बजे अचानक आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

आगलागीको खबर प्राप्त हुनासाथ दमकलसहित सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेको थियो । टोलीले केही समयको प्रयासपछि आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

आगलागीका क्रममा चारभन्दा बढी ग्यास सिलिन्डर विस्फोट भएको बताइएको छ । आगलागीबाट कुनै मानवीय क्षति नभएको र अन्य भैतिक क्षतिको पूर्ण विवरण भने सार्वजनिक भइनसकेको प्रहरीको भनाई छ । आगलागीको कारणसमेत खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

सिफारिस