
काठमाडौँ । त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र बाट जीवित उद्धार गरिएका २ जनाको पहिचान खुलेको छ ।
रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण ‘त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जना कर्मचारीको १० दिनपछि जीवितै उद्धार गरिएको हो ।
सुरुङबाट जीवितै उद्धार गरिनेहरूमा नेपाल विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान (चौथो तहका कर्मचारी) सञ्जय साह र आयोजनाका मेकानिकल सुपरभाइजर कविर महर्जन रहेका छन् ।
काठमाडौंका कबिर महर्जन त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको नियमित मर्मतसम्भारका लागि कुलेखानी जलविद्युत् आयोजनाबाट गएका थिए । सप्तरीका सञ्जय शाह त्रिशूली ३ ‘ए’ को अपरेसनमा सिफ्ट ड्युटीमा थिए । उनीहरूलाई पहुँच सुरुङको आधाआधीमा भेटिएको उद्धारमा खटिएका सुरक्षाकर्मीले बताएका छन् । बाहिर निस्कने क्रममा उनीहरु बीचमै अड्किएका थिए ।
लमजुङ-लिरुङबाट आएको भीषण बाढीका कारण उनीहरू भदौ १० गतेदेखि सुरुङभित्रै फसेका थिए ।
शुक्रबार बिहान नेपाली सेना र सशस्त्र प्रहरीको टोली तथा उद्धारमा खटिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं इन्जिनियर श्रीराम न्यौपानेको प्रयासमा उनीहरूको सकुशल उद्धार भएको हो ।
बिहान ९:२० बजेतिर सुरुङ बाहिर निकालिएलगत्तै उनीहरूलाई नेपाली सेनाको टोलीले घटनास्थलमै प्राथमिक उपचार प्रदान गरेको थियो । त्यसपश्चात थप उपचारका लागि उनीहरूलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ ।