
काठमाडौं । सुरुङ विशेषज्ञ प्रा. डा. अर्नोल्ड डिक्सले आपत्कालीन रूपमा हातले खनिएको सुरुङ खनेर पावर स्टेसनका कामदारलाई सकुशल उद्धार गरिएको घटनालाई विश्वव्यापी रूपमा प्रशंसा गरेका छन् ।
सामाजिक सञ्जाल लिंकेडीनमा आफ्नो धारणा राख्दै डिक्सले आपत्कालीन अवस्थामा मानिसहरूको ज्यान बचाउन गरिएको यो कार्य अत्यन्तै सराहनीय भएको बताएका हुन्। उनले लिंकेडीनमा लेखेका छन्, “नेपालले आकस्मिक रूपमा हातले सुरुङ खनेर पहिलो पावर स्टेसनका कामदारलाई सकुशल उद्धार गरियो! धेरै मानिसहरू – एक संसार”

भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जना प्राविधिक कर्मचारीलाई सकुशल उद्धार गरिएको छ । सुरुङभित्रबाट उद्धार हुनेमा मेकानिकल फोरम्यान सप्तरीका ३२ वर्षीय सञ्जय साह र मेकानिकल सुपरभाइजर कीर्तिपुर पाँगाका कविर महर्जन रहेका छन् ।
बाढीको प्रभावपछि सुरुङभित्र अड्किएका उनीहरूलाई आज बिहान उद्धार टोलीले सफलतापूर्वक बाहिर निकालेको हो। उद्धार गरिएका दुवै जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ ।
नेपालको यस आपत्कालीन उद्धार प्रयासप्रति विश्वविख्यात अस्ट्रेलियन सुरुङ विशेषज्ञ प्रा. डा. अर्नोल्ड डिक्सले उच्च प्रशंसा गरेका हुन् ।
अन्तर्राष्ट्रिय सुरुङ तथा भूमिगत ठाउँ संघ (ITA-AITES) का अध्यक्षसमेत रहेका डिक्सले यसअघि चिली, थाइल्यान्ड र भारतमा भएका जटिल उद्धार कार्यहरूको स्मरण गर्दै नेपालको घटनामा पनि आशा नमार्न आग्रह गरेका थिए । ‘यो यो उद्धार हो, लास खोज्ने कार्य होइन”, उनले भनेका थिए ।
सुरुङ भनेको एउटा इन्जिनियरिङ संरचना भएको र यो मौसमबाट सुरक्षित, तापक्रमको हिसाबले तुलनात्मक रूपमा स्थिर एवं बाहिर सबैतिर तहसनहस भएपछि पनि यसले श्वास फेर्न योग्य हावा र सुरक्षित आश्रयस्थल प्रदान गर्न सक्षम हुने उनले बताएका थिए ।
“सन् २०१० मा चिलीको सान जोसे खानीमा ३३ जना खानी मजदुरहरू ६९ दिनसम्म भूमिगत रूपमा जीवितै रहेका थिए, जसमा पहिलो १७ दिनसम्म उनीहरूसँग कुनै सम्पर्क हुन सकेको थिएन। सन् २०१० मा थाइल्याण्डको थाम लुङ गुफाभित्र फसेका १२ जना बालक र उनका कोच नौ दिनपछि जीवितै फेला परेका थिए। ती सबैलाई बाहिर निकालिएको थियो । सन् २०२३ मा भारतको सिल्क्यारा सुरुङमा ४१ जना पुरुषहरू सुरुङको ढुङ्गाले थुनिएपछि पनि १७ दिनसम्म जीवित रहेका थिए। म त्यो सुरुङमा उपस्थित थिएँ । ती सबै ४१ जना घर फर्किए। इतिहासले प्रमाणित गरेको छ कि हामीले किन हार मान्नु हुँदैन”, उनले उल्लेख गरेका थिए ।

सन् २०२३ मा भारतको उत्तराखण्डस्थित सिल्क्यारा सुरुङ दुर्घटनामा उद्धार कार्यका लागि महत्त्वपूर्ण भूमिका खेलेर चर्चामा आएका डिक्सले नेपालमा भइरहेको यस उद्धार प्रयासलाई यसअघि ‘एकैपटक २३ वटा सिल्क्यारा उद्धार भइरहेको जस्तो’ भनी टिप्पणी गरेका थिए ।
सुरुङ प्रविधि र आपत्कालीन उद्धारका क्षेत्रमा विश्वभर ख्याति कमाएका डिक्सले नेपालको यो साहसिक उद्धार कार्यलाई विश्वसामु सकारात्मक रूपमा प्रस्तुत गर्नुले नेपालको आपत्कालीन व्यवस्थापन र मानवीय सहकार्यको महत्त्वलाई थप उजागर गरेको छ ।