
काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले भोटेकोशी बाढी पीडितको राहत कोषमा ६० लाख रुपैयाँ सहयोग गरेको छ । बिहीबार अर्थ मन्त्री स्वर्णिम वाग्लेलाई भेटेर कर्पोरेसनले ६० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।
गत भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीपछि प्रभावित नागरिकको राहत, उद्धार तथा पुनः स्थापनाका लागि कर्पोरेसनले ६० लाख सहयोग गरेको हो ।
कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले सामाजिक उत्तरदायित्व तथा मानवीय सहयोगका रूपमा कुल ६० लाख रुपैयाँ सहयोग गरेको बताइन् । सहयोग रकममध्ये ५० लाख रुपैयाँ कर्पोरेसनको तर्फबाट र १० लाख रुपैयाँ कर्मचारीको तलबबाट कट्टा गर्ने गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गरिएको हो ।
साथै कर्पोरेसनले विपद् प्रभावित क्षेत्रमा खाद्यान्न लगायतका अत्यावश्यक वस्तुको आपूर्ति गरिरहेको समेत बताएको छ ।
विपद्को घडीमा नेपाल सरकारले सञ्चालन गरिरहेको उद्धार कार्यमा ऐक्यबद्धता जनाउँदै कर्पोरेसनले प्रभावित नागरिकको राहत तथा पुनः स्थापनाका लागि सहयोग गर्नसमेत आग्रह गरेको छ ।