अपिहिमालमा भिषण पहिरो, चमेलिया नदी थुनिदा एक दर्जन परिवार जोखिममा

दियोपोस्ट संवाददाता

दार्चुला । अपिहिमाल गाउँपालिका-१ भटारमा निरन्तरको वर्षासँगै ठूलो पहिरो गएको छ । पहिरोका कारण चमेलिया नदी थुनिएको स्थानीय प्रशासनले जनाएको छ ।

ठूलो पहिरो खस्दा स्थानीयको खेतीयोग्य जमिन बगाएको छ भने भटार गाउँका करिब एक दर्जन परिवार उच्च जोखिममा परेका छन् । लगातार वर्षा भइरहेकाले नदीमा पानीको बहाव थप बढ्न सक्ने जोखिम रहेको गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहराले जानकारी दिए ।

जोखिमलाई मध्यनजर गर्दै गाउँपालिकाले पहिरो प्रभावित क्षेत्रका जोखिममा रहेका स्थानीय बासिन्दा तथा उनीहरूका वस्तुभाउलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न थालेको अध्यक्ष बोहराले बताए ।

उनका अनुसार घटनास्थलमा वडा अध्यक्षसहित जनप्रतिनिधि र गाउँपालिकाका कर्मचारी पुगेका छन्। थप क्षति हुन नदिन तथा सम्भावित उद्धारका लागि नजिकैको प्रहरी चौकीबाट सुरक्षाकर्मीको टोलीसमेत घटनास्थलतर्फ परिचालन गरिएको छ।

अध्यक्ष बोहराका अनुसार सोही स्थानमा तीन-चार वर्षअघि पनि पहिरो गएको थियो। तर यसपटकको पहिरो विगतको तुलनामा निकै ठूलो रहेको स्थानीयले बताएका छन्।

वर्षा निरन्तर भइरहेकाले चमेलिया नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई समेत सतर्क रहन आग्रह गरिएको छ।

सम्बन्धित खबर

सिफारिस