
वीरगन्ज । देशभर भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भइरहेका बेला स्थानीय तहका जनप्रतिनिधि राहत तथा उद्धारमा सक्रिय भइरहेका छन् । यता पर्सास्थित सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव भने सरकारी सवारीसाधन प्रयोग गरेर क्यासिनो धाउने गर्छन् । यादव शनिवार राती क्यासिनोबाट पक्राउ परेका छन् ।
पर्सा प्रहरीले शनिबार राति सञ्चालन गरेको विशेष अभियानका क्रममा वीरगन्जस्थित गण्डकी क्लार्क रिसोर्ट होटलमा रहेको क्यासिनोबाट अध्यक्ष यादवसहित आठ जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार यादव गाउँपालिकाको ना. १ झ १६८७ नम्बरको सरकारी स्कर्पियो प्रयोग गरेर क्यासिनो पुगेका थिए । प्रहरीले क्यासिनो परिसरबाट उक्त सरकारी सवारीसाधनसमेत नियन्त्रणमा लिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी पवनकुमार भट्टराईले सरकारी सवारीसाधन प्रयोग गरेर जनप्रतिनिधि क्यासिनो पुगेको विषयलाई प्रहरीले गम्भीर रूपमा लिएको बताए ।
डीएसपी चक्रबहादुर मल्लले अध्यक्ष यादवसहित केही व्यक्तिलाई नियन्त्रणमा लिइएको र उनीहरूलाई आइतबार सार्वजनिक गरिने जानकारी दिए । पर्साका विभिन्न क्यासिनोमा नेपाली नागरिक प्रवेश गर्ने गरेको सूचना पटक-पटक प्राप्त हुँदै आए पनि प्रहरी पुग्नुअघि नै उनीहरू भाग्ने गरेका कारण यसअघि ठोस कारबाही हुन नसकेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार पछिल्लो समय राजनीतिक पहुँचको आडमा हेटौँडा, कलैया तथा पर्साका विभिन्न स्थानीय तहसँग सम्बन्धित राजनीतिक परिवार र व्यापारीहरूले भारतीय राशन कार्डको प्रयोग गरी क्यासिनो प्रवेश गर्ने गरेको सूचनासमेत प्राप्त हुँदै आएको थियो ।
क्यासिनोका कारण कतिपय परिवार आर्थिक तथा सामाजिक रूपमा संकटमा परेको घटनालाई ध्यानमा राख्दै प्रहरीले निगरानी बढाएको थियो । सोही क्रममा यसपटक गाउँपालिका अध्यक्ष यादव नै क्यासिनो परिसरमा भेटिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।