मनास्लु र लार्केपासमा पदयात्रा नगर्न प्रशासनको आग्रह

दियोपोस्ट संवाददाता

गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु र लार्केपास पदमार्ग हुँदै यात्रा नगर्न आग्रह गरेको छ।
कार्यालयले चुमनुब्री गाउँपालिका-४ नामरुङस्थित थेराङखोलामा आएको बाढीका कारण तत्काल पदयात्रा नगर्न तथा नगराउन आग्रह गरेको हो ।

भदौ २१ गते बिहान करिब ३ः३० बजे आएको बाढीले चुमनुब्री गाउँपालिका-४ र वडा नं. २ जोड्ने झोलुङ्गे पुल तथा गापदेखि नामरुङ जंगल जाने बुढीगण्डकी नदीको झोलुङ्गे पुलसमेत बगाएको प्रशासनले जनाएको छ।

पुल तथा पदमार्गमा क्षति पुगेकाले मनास्लु पदमार्ग वा लोकपास पदमार्गमा यात्राको तयारीमा रहेका तथा यात्रामा रहेका पदयात्रीहरूलाई अर्को सूचना प्रकाशित नभएसम्म पदयात्रा नगर्न र नगराउन प्रशासनले अनुरोध गरेको हो।

प्रशासनले कुनै विपद्जन्य घटना वा असामान्य अवस्था सिर्जना भएमा तत्काल नजिकको सुरक्षा इकाइ, प्रहरी चौकी, स्थानीय तह वा सम्बन्धित सम्पर्क नम्बरमा जानकारी गराउनसमेत आग्रह गरेको छ।

 

सम्बन्धित खबर

सिफारिस