दराज नेपालद्वारा ६ सय बाढी प्रभावित परिवारलाई ४५ लाख रुपैयाँ बराबरको राहत सहयोग

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपालका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि दराज नेपालले करिब ६०० परिवारलाई लक्षित गर्दै ३० हजार अमेरिकी डलर (करिब ४५ लाख रुपैयाँ) बराबरको राहत सामग्री उपलब्ध गराएको छ ।

कम्पनीका अनुसार राहत सामग्रीमा चामल, दाल, चना, नुन, सोयाबिन, खानेतेल, चिया तथा बिस्कुटलगायत लामो समयसम्म सुरक्षित राख्न सकिने अत्यावश्यक खाद्य सामग्री रहेका छन् । ती सामग्री प्रभावित परिवारसम्म पुर्‍याउन नेपाल सरकारलाई प्रत्यक्ष हस्तान्तरण गरिएको छ ।

दराज नेपालले प्रभावित समुदायमा तत्काल आवश्यक पर्ने सामग्री पहिचान गर्न नेपाल सरकारसँग समन्वय गरिरहेको जनाएको छ । साथै, आगामी चरणमा खाना पकाउन तथा वितरण गर्न आवश्यक भाँडाकुँडा र अन्य सामग्री खरिद गरी सहयोग गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ ।

बाढीका कारण सडक तथा यातायात पूर्वाधारमा क्षति पुगेपछि लजिस्टिक्स तथा डेलिभरी सेवामा समेत चुनौती सिर्जना भएको दराज नेपालले जनाएको छ । कम्पनीका अनुसार ग्राहक, विक्रेता, डेलिभरी कर्मचारी तथा साझेदारहरूको सुरक्षा पहिलो प्राथमिकतामा राखिएको छ ।

सुरक्षित र अवस्था अनुकूल रहेका क्षेत्रमा लजिस्टिक्स साझेदार तथा सम्बन्धित सरोकारवालासँगको समन्वयमा सेवा सञ्चालन तथा पुनःस्थापनाको काम भइरहेको कम्पनीले जनाएको छ । प्रभावित क्षेत्रमा सडक तथा यातायातको अवस्थाका कारण केही समय डेलिभरी तथा सेवामा ढिलाइ वा अवरोध आउन सक्ने पनि दराजले स्पष्ट पारेको छ ।

दराज नेपालले तत्कालीन राहतपछि पनि आफ्नो सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । उद्धार तथा राहतका तत्कालीन आवश्यकता पूरा भएपछि सरकारसँग समन्वय गर्दै पुनर्निर्माण तथा पुनःस्थापनाका क्षेत्रमा समेत स्रोत र क्षमतामार्फत योगदान गर्ने कम्पनीले जनाएको छ ।

साथै, दराज नेपालले विपद्को समयमा प्रभावित समुदायको उद्धार तथा सहयोगमा खटिरहेका सुरक्षाकर्मी, स्वयंसेवक, आपत्कालीन उद्धारकर्मी तथा अन्य अग्रपंक्तिका सहयोगीप्रति सम्मान तथा कृतज्ञता व्यक्त गरेको छ।

सम्बन्धित खबर