राप्रपाका महामन्त्री पाठकले छाडे पार्टी, विचार र व्यवहारबीच चरम विरोधाभास रहेको आरोप

दियोपोस्ट संवाददाता

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री शरदराज पाठकले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राप्रपा परित्याग गरेका छन् । पार्टीको घोषित विचारधारा र व्यवहारबीच चरम विरोधाभास देखिएको भन्दै पाठकले आइतबार प्रेस विज्ञप्तिमार्फत पार्टीबाट अलग भएको घोषणा गरेका हुन् ।

पूर्व नेता रवीन्द्र मिश्रसँगै राप्रपामा आबद्ध भएका पाठकले आफूहरू पार्टीमा जोडिँदा गरिएको एकताको आधारअनुसार अपेक्षित ठोस काम हुन नसकेको बताएका छन् ।
उनका अनुसार पार्टीमा रहँदासम्म परिणाममुखी काम हुन सकेन भने पार्टीले अंगीकार गरेको विचार र व्यवहारबीचको दूरीसमेत कायमै रह्यो ।

‘भ्रष्टाचार गरेर खानु आमाको रगत खाए सरह हो’ भन्ने कठोर नारालाई पार्टीले मूलमन्त्रका रूपमा अघि सारे पनि त्यसअनुसारको व्यावहारिक प्रतिबद्धता र पारदर्शिता पार्टीभित्र नदेखिएको पाठकको आरोप छ ।

पार्टीको केन्द्रमा आन्तरिक बेमेल र गुटगत स्वार्थका कारण तिक्त संघर्ष झनै बढ्दै गएको पनि उनले बताएका छन् । यस्तो अवस्थाले नयाँ पुस्ताका इमानदार, शिक्षित र सचेत युवालाई पार्टीमा आकर्षित गर्न नसकेको उनको निष्कर्ष छ । आफू लगायत नयाँ जोडिएका नेताहरूले समेत विद्यमान अवस्थामा परिवर्तन ल्याउन सक्ने सम्भावना नदेखेपछि पार्टीबाट अलग हुने निर्णयमा पुगेको उनले बताएका छन् ।

पाठकले करिब चार वर्षअघि राप्रपाको महामन्त्रीको जिम्मेवारी सम्हाल्दा पार्टीलाई समयानुकूल पुनर्संरचना गर्ने र सुशासनप्रति इमानदार प्रतिबद्धता भएको दलका रूपमा रूपान्तरण गर्ने लक्ष्य रहेको स्मरण गरेका छन् ।

उनका अनुसार सबै उमेर, वर्ग, समुदाय र भूगोलका नागरिकले भरोसा गर्न सक्ने राजनीतिक दल निर्माण गर्ने सहमतिका आधारमा आफूले महामन्त्रीको जिम्मेवारी लिएका थिए। तर, त्यसअनुसार पार्टी अघि बढ्न नसकेको उनको भनाइ छ।