
बाढी प्रभावित बेत्रावती क्षेत्र: त्रिशूली नदीमा आएको भीषण बाढीले फलाखु खोलाको बहावलाई रोकेर पछाडि धकेलिदिएको छ, जसका कारण उक्त क्षेत्रमा ठूलो मात्रामा लेदो र गेग्रान थुप्रिएको छ। तस्बीर: प्रकाश बिसी
काठमाडौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ५१ पुगेको छ । नेपाल प्रहरीका अनुसार सोमबार बिहान ५ बजेसम्म विभिन्न जिल्लाबाट १ हजार ३ सय ५१ जनाको शव फेला परेको हो ।
फेला परेका शवमध्ये रसुवामा १६९, नुवाकोटमा १९६, धादिङमा ६९, चितवनमा ३६२, गोरखामा ७४, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२२ र नवलपरासी पश्चिममा २२१ जनाको शव फेला परेको छ ।
फेला परेका शवको पहिचानका लागि डीएनए नमुना संकलनलगायत आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । हालसम्म १ हजार ४४ वटा शव व्यवस्थापन गरिएको छ । पहिचानका लागि मृतकका १ हजार १८१ र आफन्तका १ हजार २३८ गरी कुल २ हजार ४१९ वटा डीएनए नमुना संकलन गरिएको छ ।
यसैबीच पहिचान हुन नसकेका १ हजार २९३ वटा शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत सार्वजनिक गरिएको छ । बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहत वितरण र शव व्यवस्थापनलगायतका कामका लागि हालसम्म ७ हजार ९१२ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ ।
प्रहरीका अनुसार बाढीपछि ३ हजार ९९२ जना अझै बेपत्ता छन् । उनीहरूको खोजी कार्य जारी रहेको छ । विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा ३ हजार १९० जनालाई राखिएको प्रहरीले जनाएको छ ।
बाढीको जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै स्थानीयवासी तथा विभिन्न निकायसँगको समन्वयमा उद्धार र खोजी कार्यलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ । बाढी तथा पहिरोका कारण अवरुद्ध भएका विभिन्न सडक तथा बाटो खुलाउने कामसमेत भइरहेको छ ।