
काठमाडौँ । रसुवा बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा सरकारले आज सोमबार राष्ट्रिय शोक मनाउँदैछ।
भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा सोमबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो।
राष्ट्रिय शोकका दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ।
नेपाल प्रहरीका अनुसार सोमबार बिहान ५ बजेसम्म विभिन्न जिल्लाबाट १ हजार ३ सय ५१ जनाको शव फेला परेको छ । फेला परेका शवमध्ये रसुवामा १६९, नुवाकोटमा १९६, धादिङमा ६९, चितवनमा ३६२, गोरखामा ७४, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२२ र नवलपरासी पश्चिममा २२१ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
फेला परेका शवको पहिचानका लागि डीएनए नमुना संकलनलगायत आवश्यक प्रक्रिया अघि बढाइएको छ। हालसम्म १ हजार ४४ वटा शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।
पहिचानका लागि मृतकका १ हजार १८१ र आफन्तका १ हजार २३८ गरी कुल २ हजार ४१९ वटा डीएनए नमुना संकलन गरिएको छ।