बाढीपीडितका लागि राहत: म्याद गुज्रिएका चिप्सदेखि ‘ढुसी’ लागेको चामलसम्म

दियोपोस्ट संवाददाता

काठमाडौँ । भोटेकोशी बाढीपीडितका लागि वितरण गर्न तयारी अवस्थामा राखिएका राहत सामग्रीमा म्याद गुज्रिएका खाद्य वस्तु भेटिएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र काठमाडौँस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको संयुक्त अनुगमन टोलीले काठमाडौँका विभिन्न पाँचवटा भण्डारण तथा अनुगमन स्थलमा गरेको आकस्मिक निरीक्षणका क्रममा म्याद गुज्रिएका तथा उपभोगका लागि अयोग्य खाद्य सामग्री फेला पारेको हो ।

विभागका अनुसार विपद्मा परेका नागरिकलाई सहयोगस्वरूप पठाउन लागिएका चामल, आटा, भुजा, चिप्सलगायत खाद्य सामग्री म्याद गुज्रिएको अवस्थामा भेटिएका हुन् । साथै चामलमा भने ढुसी समेत लागेको थियो । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम गरिएको अनुगमनका क्रममा सरकारी निकायदेखि प्रहरी तालिम केन्द्रसम्मका भण्डारणस्थलमा यस्ता सामग्री फेला परेका थिए ।

अनुगमनका क्रममा बबरमहलस्थित सहरी विकास तथा भवन निर्माण विभाग, सामाखुसीस्थित प्रहरी तालिम केन्द्र र राधा स्वामी सत्सङमा भण्डारण गरिएका राहत सामग्रीमा कैफियत भेटिएको विभागले जनाएको छ ।

विभागकी वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा। बालकुमारी शर्माका अनुसार राहत संकलन तथा प्याकेजिङ भइरहेका स्थानमा म्याद गुज्रिएका खाद्य वस्तु अन्य सामग्रीसँगै वितरणका लागि तयारी अवस्थामा राखिएको पाइएको थियो ।

बबरमहलस्थित सहरी विकास तथा भवन निर्माण विभागमा यशोदा फुड्स प्रालि, रुपन्देहीको ‘करेन्ट चिप्स’ ३० थान र गिरिधारी फुड प्रडक्ट, बुटवलको ‘भुजा’ २१ बोरा म्याद गुज्रिएको अवस्थामा फेला परेको थियो । अनुगमन टोलीले ती सामग्री वितरणमा रोक लगाउँदै छुट्टै ‘एक्स्पायर्ड जोन’मा राखेर कानुनी प्रक्रिया अघि बढाएको छ ।

त्यस्तै, सामाखुसीस्थित प्रहरी तालिम केन्द्रमा दुई प्याकेट अर्थात् १८ पिस ‘चोकोफन’ र पाँच किलोको एक प्याकेट चक्की आटा म्याद गुज्रिएको अवस्थामा फेला परेको थियो ।

सोही स्थानमा राखिएको ५९ प्याकेट ‘अल इन वान’ दालमोठको उपभोग्य मिति सकिन दुई दिन मात्र बाँकी रहेको पाइएको थियो । विभागले उक्त सामग्रीको वितरणमा समेत रोक लगाएर ‘एक्स्पायर्ड जोन’मा राख्न निर्देशन दिएको छ ।

यस्तै, सामाखुसीस्थित राधा स्वामी सत्सङमा गरिएको अनुगमनका क्रममा जयश्री उसिना चामलको २५ किलोको एक बोरा म्याद गुज्रिएको अवस्थामा फेला परेको विभागले जनाएको छ ।

राहत सामग्रीका रूपमा म्याद गुज्रिएका खाद्य वस्तु वितरण गर्दा विपद्का कारण समस्यामा परेका नागरिकको स्वास्थ्यमा थप जोखिम उत्पन्न हुन सक्ने भन्दै विभागले त्यस्ता सामग्रीको वितरणमा रोक लगाई कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।

विभागको विशेष अपिल

घटनापछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बाढी प्रभावित क्षेत्रका उपभोक्ता, राहत वितरक तथा खाद्य व्यवसायीलाई खाद्य स्वच्छता र गुणस्तरमा विशेष ध्यान दिन अपिल गरेको छ ।

विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को पूर्ण परिपालना गर्दै बाढी प्रभावित क्षेत्रमा वितरण गरिने खाद्य सामग्रीको म्याद, गुणस्तर र स्वच्छता सुनिश्चित गर्न आग्रह गरेको छ ।

सम्बन्धित खबर

सिफारिस