मकवानपुरमा १६२ किलो ७९४ ग्राम गाँजासहित दुई जना पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ । मकवानपुरमा प्रहरीले १६२ किलो ७९४ ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । मनहरी गाउँपालिका-९ भाबरस्थित भित्री सडकखण्डमा मंगलबार बिहान चेकजाँचका क्रममा उक्त परिमाणको गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार भाबरबाट खरङ्गातर्फ आउँदै गरेको बा.प्र.०१-०२५ च ०८७७ नम्बरको कार र ग २ च ६१५ नम्बरको पिकअप गाडीलाई प्रहरीले चेकजाँचका लागि रोक्न खोज्दा पिकअप गाडी भाग्न खोजेको थियो । सोही क्रममा कारको सिटमा प्लास्टिकले बेरिएको १३ पोका गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले पिकअपलाई नियन्त्रणमा लिएपछि कार चालक र पिकअप चालकलाई समेत नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका-५ धोबाहा बस्ने ५६ वर्षीय देवनारायण महतो र भरतपुर महानगरपालिका-२४ का ४८ वर्षीय टेकबहादुर दोङ रहेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।