
काठमाडौँ । भोटेकोशी बाढीको १३औँ दिन नुवाकोटमा बाढीका कारण ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै काठमाडौँ सुनचाँदी व्यवसायी संघले श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ।
सोमबार आयोजित कार्यक्रममा बाढीमा परी ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै धारणी पाठ समेत वाचन गरिएको थियो।
कार्यक्रममा सांसद गणेश पराजुली, महासंघका अध्यक्ष धर्मसुन्दर बज्राचार्य, विभिन्न जिल्लाका अध्यक्ष, सल्लाहकार, सदस्य तथा स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो।

कार्यक्रममा बाढीबाट प्रभावित तथा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको थियो। साथै बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको थियो।
बाढीबाट प्रभावित परिवार तथा समुदायलाई विपद्को अवस्थाबाट छिट्टै पुनःस्थापित भई सामान्य जीवनमा फर्कन सक्ने कामनासमेत गरिएको संघले जनाएको छ।