बाढीपीडितका लागि एक्सिस ब्यान्डले जुटायो ४ लाखभन्दा बढी सहयोग

दियोपोस्ट संवाददाता

काठमाडौँ । एक्सिस ब्यान्डले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा सहयोगका लागि सांगीतिक कार्यक्रममार्फत चार लाख ९ हजार ६ सय ३७ रुपैयाँ सहयोग गरेको छ।

पीआरभी इन्टरटेन्मेन्टको आयोजनामा त्रिसरा रेस्टुरेन्टमा एक्सिस ब्यान्डको सहकार्यमा आयोजित सांगीतिक कार्यक्रमबाट संकलित रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको आयोजकले जनाएको छ।

बाढीपीडित नागरिक तथा प्रभावित परिवारलाई राहत र सहयोग उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा सहभागी अतिथि तथा दर्शकले खरिद गरेका टिकटबाट प्राप्त रकमसँगै विभिन्न संघसंस्था तथा व्यवसायीबाट प्राप्त सहयोगसमेत गरी उक्त रकम संकलन भएको आयोजकले जनाएको छ।

गत भदौ १० गते रसुवास्थित भोटेकोशी नदी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो। बाढीले घर, सडक, पुल, जलविद्युत् आयोजना लगायतका महत्त्वपूर्ण संरचनामा क्षति पुर्‍याएको थियो।

प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको रकम बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनःस्थापनामा प्रयोग गरिने जनाइएको छ।

कार्यक्रमलाई हिमालयन प्रोडक्सन्स, रोटेपिङ इन्टरटेन्मेन्ट, वावाज, लिक्वी मोली, पौडेल इन्टरप्राइजेज, रोटरी क्लब अफ भिजन काठमाडौँ, फोनपोइन्ट्स, डोको टुर्स, समारा ट्रेडर्स इन्टरप्राइजेज, लाइभ सोलुसन, इसेवा, लेजेन्डरी मोटर्स हब तथा एनाग्राफी स्टुडियोले सहयोग गरेका थिए।