नाइमाद्वारा बाढीपीडितका लागि ५० लाख सहयोग

दियोपोस्ट संवाददाता

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले ५० लाख सहयोग प्रदान गरेको छ । उक्त रकम नाइमा अध्यक्ष ऋतु सिंह वैद्यको नेतृत्वमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न अर्थमन्त्री डा।स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो ।

रकम हस्तान्तरण कार्यक्रममा नाइमा अध्यक्ष ऋतु सिंह वैद्यको नेतृत्वमा बोर्ड सदस्यहरू यमुना श्रेष्ठ र हेमन्त गोल्छा, नाइमाका प्रमुख सदस्य सिमेक्स इन्कका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ, नाइमा कार्यकारी निर्देशक राज कुमार दुलाल, कार्यक्रम संयोजक ज्ञानु अधिकारी तथा नाइमा डिजिटल एजेन्सी दिपालका उत्सव कार्कीको सहभागिता रहेको थियो।

सो अवसरमा अध्यक्ष ऋतु सिंह वैद्यले सहयोग रकम तुलनात्मक रूपमा सानो भए पनि यसको मूल भावना विपद्को घडीमा प्रभावित समुदायप्रति ऐक्यबद्धता र साथ व्यक्त गर्नु रहेको बताइन् ।

उनले विशेष गरी नाइमाका सदस्य कम्पनीहरूसहित नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको तर्फबाट यो सहयोग प्रदान गरिएको उल्लेख गर्दै संकट र विपद्का समयमा नाइमा सधैँ सरकार तथा प्रभावित समुदायसँगै उभिने प्रतिबद्धता व्यक्त  गरिन् ।