बाढीप्रभावितलाई चितवनका कैदीबन्दीद्वारा सहयोग

दियोपोस्ट संवाददाता

चितवन । चितवन कारागारका कैदीबन्दीहरूले भोटेकोशी बाढीप्रभावित परिवारका लागि आर्थिक सहयोग तथा श्रमदान गरी राहत सामग्री उपलब्ध गराएका छन्।

कैदीबन्दीहरूले आपसमा १०० देखि दुई हजारसम्म नगद संकलन गर्नुका साथै आफैँ श्रमदान गरेर बाढीप्रभावित परिवारका लागि आवश्यक बन्दोबस्तीका सामान तयार पारेका हुन्।

कुल तीन लाख ६७ हजार ३६ बराबरको रकमबाट सामग्री खरिद गरिएको हो । जसमध्ये डसना र सिरानी कारागार परिसरभित्रै कैदीबन्दीहरूले श्रमदान गरी तयार पारेका थिए।

सोमबार कारागार परिसरमा आयोजित एक कार्यक्रमका बिच कैदीबन्दीहरूले प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई उक्त राहत सामग्री हस्तान्तरण गरेका छन् ।

उनीहरूले बाढीप्रभावित १२५ परिवारका लागि प्रतिपरिवार डसना, ब्लाङ्केट, तन्ना, सिरानी, सिरानीको खोल, गम्छा, नङ्कटर, साबुन, दाँत माझ्ने ब्रस, मन्जन र काहियो १र१ सेटका दरले राहत सामग्री उपलब्ध गराएका हुन्।