सिरहामा १५७ किलोभन्दा बढी गाँजा बरामद

दियोपोस्ट संवाददाता

काठमाडौँ । सिरहामा सशस्त्र प्रहरीले १५७ किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाबाट खटिएको मोबाइल गस्ती टोलीले औरही गाउँपालिका-४ इट्टाटारस्थित सीमा क्षेत्रबाट १५७ किलो २०७ ग्राम गाँजा बरामद गरेको हो ।

सशस्त्र प्रहरीका अनुसार बुधबार बिहान करिब १ः३५ बजे नेपालबाट अवैध रूपमा टाउकोमा बोकेर गाँजा भारततर्फ लैजाँदै गरेका व्यक्तिहरूले गस्ती टोलीलाई देखेपछि गाँजा छाडेर फरार भएका थिए ।

गस्ती टोलीले घटनास्थलबाट गाँजा नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाएको जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका गणपति एसपी सुमनजंग थापाले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि गस्ती तथा निगरानीलाई थप प्रभावकारी बनाइएको जानकारी दिए ।