जेनजी शहीद स्मृति सभामा विवादित धर्मगुरुलाई ‘विशेष सम्मान’, मन्त्रीहरू पछाडि

दियोपोस्ट संवाददाता

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनामा मंगलबार नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनअगाडि आयोजित स्मृति सभामा विवादित पृष्ठभूमिका दुई धर्मगुरुको उपस्थितिले प्रश्न उठाएको छ ।

आफूलाई धर्मगुरुका रूपमा प्रस्तुत गर्दै आएका बालयोगेश्वर विजय कृष्णमूर्ति भनिने विजय भण्डारी र श्रीनिवास आचार्यलाई मञ्चको अग्रभागमा अतिथिका रूपमा स्थान दिइएको विषयले भने विवाद जन्माएको हो ।

स्मृति सभामा गृहमन्त्री सुदन गुरुङ, कानुनमन्त्री सोबिता गौतम, भौतिक पूर्वाधारमन्त्री महावीर पुन, मन्त्री सुनिल लम्साल, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद, पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालसहित जेनजी शहीदका परिवार, आफन्त र आन्दोलनका अगुवाहरू सहभागी थिए ।

तर ति विवादित धर्म गुरुहरु भने गृहमन्त्रीलगायत मन्त्रीहरूसँगै अग्र पंक्तिमा बसेका थिए । तर सरकारकै केही मन्त्री, सांसद तथा पूर्वगृहमन्त्रीसमेत उनीहरूभन्दा पछाडि देखिएका थिए ।

कार्यक्रममा दुवै धर्मगुरुले मन्तव्यसमेत दिएका थिए । उनीहरूले गृहमन्त्री गुरुङलाई दीप प्रज्वलनका क्रममा सहयोग गरेका थिए ।

‘विवादित पात्रलाई अगाडि राखेर सरकारले के सन्देश दिन खोज्यो?’:
स्मृति सभामा विवादित पृष्ठभूमिका व्यक्तिलाई विशेष स्थान दिइएको भन्दै रास्वपा भित्रै प्रश्न उठेको छ । सांसद अमरेशकुमार सिंहले जेनजी शहीदको स्मृति कार्यक्रममा विवादित धर्मगुरुलाई मञ्चको अगाडि राखेर मन्त्रीहरूलाई पछाडि राखिएको भन्दै सार्वजनिक रूपमै प्रश्न उठाएका छन् ।

सिंहले संविधान, समावेशिता र जनआन्दोलनको भावनाविपरीत सरकार अघि बढ्न खोजेको आरोप समेत लगाएका छन् । आफ्नै निर्णयमा टिक्न नसक्ने र विवादास्पद गतिविधि दोहोर्‍याउँदै जाने सरकारलाई छुट नहुने उनको भनाइ छ ।

को हुन् विजय भण्डारी?:
स्मृति सभामा अग्रस्थान पाएका विजय भण्डारी विगतमा आर्थिक ठगीदेखि वैदेशिक रोजगारसम्बन्धी कसुरसम्मका विवादमा मुछिएका व्यक्ति हुन् ।

धार्मिक कार्यक्रम तथा संस्था सञ्चालनको आवरणमा सर्वसाधारणबाट रकम उठाएको आरोपमा उनीविरुद्ध विगतमा मुद्दा चलेको थियो । अमेरिका पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम लिएको आरोपमा उनीविरुद्ध प्रहरीमा उजुरी परेको थियो ।

काठमाडौँ प्रहरीले उनलाई पक्राउ गरी ठूलो रकम ठगी गरेको अभियोगमा अदालतमा पेस गरेको थियो । अनुसन्धानका क्रममा प्रहरीले उनको निवासबाट रसिद, चेक, रजिस्टरलगायतका कागजात बरामद गरेको थियो ।

पछि उनीविरुद्धको ठगीसम्बन्धी मुद्दा सर्वोच्च अदालतसम्म पुगेको थियो । २०८१ कात्तिकमा पीडितसँग रकम फिर्ता गर्ने सहमतिपछि मिलापत्रमार्फत उक्त मुद्दा टुंगिएको थियो ।

त्यसबीच पनि उनी धार्मिक कार्यक्रम र महायज्ञका कारण विवादमा पर्दै आएका थिए । गुल्मीमा विद्यालय भवन निर्माणका लागि भन्दै आयोजना गरिएको महायज्ञबाट संकलित रकमको विषयमा समेत विवाद भएको थियो ।

भण्डारीमाथि वैदेशिक रोजगारसम्बन्धी कसुरको मुद्दासमेत चलेको थियो । धार्मिक कार्यक्रममा सहभागी गराउने भन्दै रकम लिएर फिर्ता नगरेको आरोपमा वैदेशिक रोजगार न्यायाधीकरणले उनलाई कैद तथा जरिबानाको फैसला गरेको थियो ।

यसअघि पोखरा तथा काठमाडौँमा आयोजित धार्मिक कार्यक्रम र महायज्ञका क्रममा समेत उनी विवादमा तानिएका थिए ।

श्रीनिवासको विवादित विगतः
स्मृति सभामा भण्डारीसँगै अग्रभागमा बसेका श्रीनिवास आचार्यको विगत पनि विवादरहित छैन । २०७५ सालमा आफैमाथि गोली प्रहार गराउन लगाएर साम्प्रदायिक तनाव सिर्जना गर्न खोजेको आरोपमा उनी पक्राउ परेका थिए । प्रहरी अनुसन्धानका क्रममा हिन्दु राष्ट्रको आन्दोलनलाई उक्साउने उद्देश्यले आफूमाथि गोली हान्न लगाएको तथ्य खुलेको प्रहरीको दाबी थियो ।

त्यसपछि उनीविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा चलेको थियो । आचार्य त्यसपछि पनि विवादास्पद अभिव्यक्ति र गतिविधिका कारण पटकपटक पक्राउ पर्दै आएका छन् । गौहत्या गर्ने व्यक्तिलाई हत्या गर्ने चेतावनीपूर्ण अभिव्यक्ति दिएको आरोपमा २०८० असोजमा उनी सुनसरीमा पक्राउ परेका थिए ।

त्यसै वर्ष मंसिरमा दुर्गा प्रसाईं नेतृत्वको आन्दोलनमा सहभागी हुँदा उग्र अभिव्यक्ति दिएको र समर्थकसहित प्रहरीमाथि आक्रमणको अवस्था सिर्जना गरेको आरोपमा उनी पुनः पक्राउ परेका थिए ।

गेरुवस्त्र र त्रिशूलसहित प्रदर्शनमा सहभागी भएका आचार्यको समूहले सडक अवरुद्ध गर्ने तथा प्रहरीमाथि आक्रामक गतिविधि गरेको प्रहरीले जनाएको थियो ।

जेनजी स्मृति सभामा उनीहरूलाई कसले बोलायो?:
जेनजी आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरूको स्मृतिमा आयोजना गरिएको कार्यक्रममा विवादास्पद पृष्ठभूमिका दुई व्यक्तिले सरकारी मन्त्रीहरूसँगै अग्रस्थान पाउनु अहिले मुख्य प्रश्न बनेको छ ।

आन्दोलनको भावनासँग जोडिएको स्मृति कार्यक्रममा सहभागी गराइएका व्यक्तिको छनोट कसले गर्‍यो र उनीहरूलाई अतिथिका रूपमा मञ्चमा राख्ने निर्णय कसरी भयो भन्ने विषयमा सरकारले स्पष्ट पारिसकेको छैन ।

कार्यक्रममा गृहमन्त्री सुधन गुरुङले विभिन्न राजनीतिक दलका नेता तथा केही सञ्चारकर्मीतर्फ संकेत गर्दै ‘अझै पनि समय छ, सुध्रिनुस्’ भन्दै चेतावनीपूर्ण अभिव्यक्तिसमेत दिएका थिए ।

शहीदको स्मृतिमा आयोजित कार्यक्रममा सहभागी व्यक्तिको विगतभन्दा पनि उनीहरूलाई दिइएको स्थान र सम्मानले प्रश्न जन्माएको छ । जेनजी आन्दोलनले उठाएका सुशासन, जवाफदेहिता र राजनीतिक संस्कारका मुद्दाबीच विवादित छविका व्यक्तिलाई सरकारी तहको स्मृति सभामा विशेष स्थान दिइनु आफैंमा विरोधाभासपूर्ण देखिएको भन्दै आलोचना हुन थालेको छ ।