जुनसुकै कम्पनीको सिलिन्डर साटेर ग्यास दिन मन्त्री यादवको निर्देशन

दियोपोस्ट संवाददाता

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले काठमाडौँ उपत्यकामा जुनसुकै कम्पनीको सिलिन्डर साटेर एलपी ग्यास उपलब्ध गराउन निर्देशन दिएकी छन्।

बाढीका कारण आपूर्ति प्रणाली प्रभावित भई उपत्यकामा एलपी ग्यासको आपूर्ति असहज बनेपछि तत्कालका लागि यस्तो व्यवस्था गर्न निर्देशन दिइएको मन्त्री यादवको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार कुनै एक कम्पनीको ग्यास सिलिन्डर उपलब्ध नभएको अवस्थामा उपभोक्तालाई अर्को कम्पनीको सिलिन्डरसँग समान मूल्यमा इन्टरचेञ्ज गरी ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउन भनिएको छ। यो व्यवस्था काठमाडौँ उपत्यकाभित्र मात्र लागू हुनेछ।

यस व्यवस्थापछि उपभोक्ताले आफूले प्रयोग गर्दै आएको ब्रान्डको सिलिन्डर तत्काल उपलब्ध नभए अन्य कम्पनीको सिलिन्डरमार्फत पनि सहज रूपमा ग्यास पाउने अपेक्षा गरिएको छ।

प्राकृतिक विपद्का कारण उत्पन्न आपूर्ति समस्या तत्काल समाधान गरी उपभोक्तालाई राहत दिने उद्देश्यले निर्णय गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्री यादवले निर्णयको प्रभावकारी कार्यान्वयनका लागि नेपाल आयल निगम तथा ग्यास उद्योगहरूलाई निर्देशन दिएकी छन्। संकटको अवस्था दुरुपयोग गरी कृत्रिम अभाव सिर्जना गर्ने, उपभोक्तालाई सास्ती दिने वा सरकारी निर्देशन अवज्ञा गर्ने जो कोहीलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ।