नुवाकोटको विदुरमा विद्युत् सेवा पुनः सञ्चालन, रसुवामा ८३ प्रतिशत पुनर्स्थापना

दियोपोस्ट संवाददाता

काठमाडौँ । बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिका-१० र ११ मा विद्युत् सेवा पुनः सञ्चालन गरिएको छ । विनाशकारी बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो क्षति पुगेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वैकल्पिक उपायसहित विद्युत् सेवा पुनर्स्थापनाको काम तीव्र बनाएको हो।

मन्त्रालयका अनुसार हालसम्म रसुवामा करिब ८३ प्रतिशत र नुवाकोटमा करिब ९५ प्रतिशत विद्युत् सेवा पुनर्स्थापना भइसकेको छ।

विद्युत् सेवा पुग्न नसकेका स्थानमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत दुई किलोवाट क्षमताका सोलार प्रणाली सामुदायिक आश्रयस्थलमा जडान गर्ने तथा घरपरिवारका लागि आवश्यकताअनुसार व्यक्तिगत सोलार प्रणाली वितरण गर्ने काम पनि अघि बढाइएको छ।

मन्त्रालयका अनुसार गत १० भदौमा आएको विनाशकारी बाढीको भोलिपल्टदेखि नै सम्भव भएसम्म सबै स्रोत, साधन र जनशक्ति परिचालन गरी विद्युत् सेवा पुनः सञ्चालनको काम अघि बढाइएको हो।

नेपाल विद्युत् प्राधिकरणका कर्मचारी तथा प्राविधिक टोलीसँगै वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कर्मचारी बाढी प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनर्स्थापनाका लागि निरन्तर खटिरहेका छन्।