
काठमाडौँ । काठमाडौँ उपत्यकामा अब एउटा कम्पनीको खाली एलपी ग्यास सिलिन्डर दिएर अर्को कम्पनीको भरिएको सिलिन्डर सोही मूल्यमा साट्न पाइने भएको छ । हालै आएको बाढीका कारण एलपी ग्यासको आपूर्ति प्रणाली प्रभावित भएपछि सरकारले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन यस्तो अस्थायी व्यवस्था गरेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवका अनुसार उपभोक्ताले प्रयोग गर्दै आएको ब्रान्ड बजारमा उपलब्ध नभएमा जुनसुकै कम्पनीको सिलिन्डरमार्फत ग्यास खरिद गर्न सक्ने व्यवस्था गरिएको छ ।
बाढीका कारण आपूर्ति प्रणालीमा समस्या देखिएपछि तत्कालका लागि यस्तो व्यवस्था लागू गरिएको मन्त्रालयले जनाएको छ । यसबाट बजारमा ग्यासको अभाव हुन नदिन र उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन सहयोग पुग्ने सरकारको अपेक्षा छ ।
मन्त्री यादवले उक्त निर्णय कडाइका साथ कार्यान्वयन गर्न नेपाल आयल निगम र ग्यास उद्योगहरूलाई निर्देशन दिएकी छन् ।
संकटको मौका छोपेर कृत्रिम अभाव सिर्जना गर्ने, उपभोक्तालाई दुःख दिने वा सरकारले तोकेको व्यवस्था पालना नगर्ने व्यवसायी तथा उद्योगीमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ ।