
काठमाडौँ । म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) को आयोजनामा आठौँ माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुने भएको छ ।
प्रतियोगितामा तीन विधामा गरी ४४ टोलीको सहभागिता रहने माफका सदस्य एवं गोल्डेनपिक हाइ स्कुलका प्राचार्य छत्रमणि राईले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रतियोगिताको सिनियर ब्वाइजतर्फ १५, गल्र्सतर्फ १६ र जुनियर ब्वाइजतर्फ १३ टोलीले प्रतिस्पर्धा गर्नेछन् । तीनै विधाका सहभागी टोलीलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट प्रणालीमा खेलाइनेछ । प्रत्येक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् ।
गोल्डेनपिक हाइ स्कुलको संयोजन तथा व्यवस्थापनमा आयोजना हुने प्रतियोगितामा माफमा आबद्ध विद्यालयका टोलीले मात्र सहभागिता जनाउनेछन् । हाल माफमा १६ विद्यालय आबद्ध छन् ।
विद्यालय तहमा बास्केटबल खेलको विकास, विस्तार तथा प्रवर्द्धन गर्नुका साथै प्रतिभावान खेलाडीको पहिचान, क्षमता विकास र खेलप्रतिको रुचि अभिवृद्धि गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको प्राचार्य राईले बताए ।
माफले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत बास्केटबल, भलिबल, फुटसललगायत विभिन्न अतिरिक्त क्रियाकलापका प्रतियोगिता आयोजना गर्दै आएको छ ।
प्रतियोगिताका खेलहरू काठमाडौँ महानगरपालिका-६, सरस्वतीनगरस्थित गोल्डेनपिक हाइ स्कुलको कोर्टमा सञ्चालन हुनेछन् ।