
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत ठाकुर प्रसाद केसीविरुद्ध विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ। नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति तथा बढुवा लिएको आरोपमा अधिकृत केसीविरुद्ध आयोगले बुधाबर भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
अख्तियारका अनुसार केसीले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश (बोर्ड अफ हाई स्कुल एण्ड इण्टरमिडिएट एजुकेसन, यूपी) बाट जारी भएको भन्दै झुट्टा तथा नक्कली हाईस्कुलको शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेका थिए।
उक्त नक्कली प्रमाणपत्रका आधारमा उनले सुरुमा सहायक निरीक्षक पदमा नियुक्ति लिएको र त्यसपछि पटक-पटक बढुवा हुँदै २०६६ सालमा वरिष्ठ अनुसन्धान सहायक, २०७३ सालमा अनुसन्धान अधिकृत तथा २०८१ सालमा प्रमुख अनुसन्धान अधिकृत पदमा पुगेको अख्तियारले जनाएको छ।
नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी नियुक्ति तथा बढुवा लिएको कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कसुर भएको ठहर गर्दै अख्तियारले केसीविरुद्ध कैद तथा जरिवाना सजायको मागदाबी गरेको छ।