आयोनको नयाँ इलेक्ट्रिक ह्याचब्याक ‘युटी’अब चाँडै नेपाल भित्रिँदै

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपालमा आयोनको आधिकारिक वितरक सीजी मोटर्सले नयाँ इलेक्ट्रिक ह्याचब्याक ‘आयोन युटी’ नेपाली बजारमा भित्र्याउने तयारी गरेको छ।

कम्पनीले आफ्नो विद्युतीय सवारीसाधनको लाइनअप विस्तार गर्दै आयोन ब्रान्डको नयाँ मोडल नेपाल ल्याउन लागेको हो। सीजी मोटर्सले हाल नेपाली बजारमा आयोन वाई र आयोन भी बिक्री गर्दै आएको छ।

आयोन युटीले हालै युरोपियन न्यू कार एसेसमेन्ट प्रोग्राम (युरो एनक्याप) को क्र्यास टेस्टमा ५ स्टार सुरक्षा रेटिङ हासिल गरेको छ । सेप्टेम्बर ३ मा सार्वजनिक गरिएको रिपोर्टअनुसार युटीले दुर्घटना सुरक्षामा ९१ प्रतिशत, दुर्घटनापछिको सुरक्षामा ८८ प्रतिशत, दुर्घटना रोकथाममा ७४ प्रतिशत र सुरक्षित ड्राइभिङतर्फ ६६ प्रतिशत अंक प्राप्त गरेको कम्पनीले जनाएको छ।

आयोन भीमा प्रयोग भएको एईपी ३.० प्लेटफर्ममै आधारित युटीको लम्बाइ ४ हजार २७० मिलिमिटर, चौडाइ १ हजार ८५० मिलिमिटर र उचाइ १ हजार ५७५ मिलिमिटर रहेको छ। २ हजार ७५० मिलिमिटरको ह्वीलबेसका कारण ह्याचब्याक आकारमा पनि पर्याप्त केबिन स्पेस उपलब्ध हुने कम्पनीको दाबी छ।

अन्तर्राष्ट्रिय बजारमा आयोन युटी एलएफपी ‘म्यागजिन ब्याट्री’सहित उपलब्ध छ। विभिन्न भेरियन्टअनुसार यसले एकपटकको चार्जमा ३३५ देखि ४३० किलोमिटरसम्म (डब्ल्यूएलटीपी) रेन्ज दिने जनाइएको छ।

युरोपजस्तो कडा सुरक्षा मापदण्ड भएको बजारमा ५ स्टार रेटिङ प्राप्त गर्नुले युटीको सुरक्षा र गुणस्तरलाई थप बलियो बनाएको कम्पनीको भनाइ छ।

नेपालमा कुन भेरियन्ट आउने, ब्याट्री क्षमता, रेन्ज तथा मूल्यलगायतका विवरण सीजी मोटर्सले चाँडै सार्वजनिक गर्ने जनाएको छ।

सम्बन्धित खबर

सिफारिस