ग्यास अभावविरुद्ध खाली सिलिन्डर बोकेर अखिल क्रान्तिकारीद्वारा सिंहदरबार दक्षिण गेटमा प्रदर्शन

दियोपोस्ट संवाददाता

काठमाडौँ । खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न माग गर्दै नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले बुधबार काठमाडौँको सिंहदरबार दक्षिण गेटमा खाली ग्यास सिलिन्डर बोकेर प्रदर्शन गरेको छ ।

बजारमा लामो समयदेखि देखिएको ग्यास अभाव तत्काल अन्त्य गर्नुपर्ने, सर्वसाधारणले सहज रूपमा ग्यास पाउने व्यवस्था मिलाउनुपर्ने र आपूर्ति प्रणाली प्रभावकारी बनाउनुपर्ने माग गर्दै विद्यार्थीहरू खाली सिलिन्डरसहित प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनका क्रममा विद्यार्थीहरूले सरकार र नेपाल आयल निगमविरुद्ध नाराबाजी गर्दै ग्यास अभावका कारण सर्वसाधारणले भोगिरहेको समस्या तत्काल सम्बोधन गर्न माग गरेका थिए ।

सिंहदरबार दक्षिण गेट नजिकै प्रदर्शनकारी र प्रहरीबीच केहीबेर झडपसमेत भएको छ । प्रदर्शनकारीलाई निषेधित क्षेत्रमा प्रवेश गर्न नदिने क्रममा प्रहरी र विद्यार्थीबीच धकेलाधकेल भएपछि अवस्था तनावपूर्ण बनेको थियो ।

ग्यासजस्तो अत्यावश्यक वस्तुको आपूर्ति सहज हुन नसक्दा विद्यार्थी, श्रमिक, न्यून आय भएका परिवार तथा एक मात्र सिलिन्डरमा निर्भर उपभोक्ता बढी प्रभावित भएका छन् । विद्यार्थी संगठनको प्रदर्शनले ग्यास अभावप्रति सरकारको व्यवस्थापन र वितरण प्रणालीमाथि थप प्रश्न उठाएको छ ।