
नुवाकोट । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएपछि यातायात सम्पर्कविहीन बनेको नुवाकोटको देवीघाटमा नेपाली सेनाले एक्रो ब्रिज निर्माण सम्पन्न गरेको छ । यातायात आवागमन सहज बनाउने उद्देश्यले नेपाली सेनाले पाँच दिनअघि सुरु गरेको एक्रो ब्रिज जडानको काम बुधबार सम्पन्न गरेको हो ।
टोलीले निरन्तर काम गर्दै छोटो समयमै पुल निर्माण सम्पन्न गरेको जनाएको छ । पुल निर्माण सम्पन्न भएसँगै आज बिहीबारदेखि पैदलयात्रीका लागि आवागमन खुला गरिने भएको छ। शुक्रबारदेखि भने सवारीसाधनसमेत सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
यसअघि भोटेकोशीमा आएको बाढीले देवीघाट क्षेत्रमा रहेको पक्की पुल बगाएपछि नुवाकोटसहित आसपासका क्षेत्रको यातायात सम्पर्क विच्छेद भएको थियो । वैकल्पिक रूपमा एक्रो ब्रिज निर्माण भएपछि स्थानीयवासी, व्यवसायी तथा यात्रुलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ ।