
धादिङ । धादिङको थाक्रे गाउँपालिका-७, सोप्याङखोलामा पहिरो खस्दा त्रिभुवन राजपथअन्तर्गत काठमाडौँ-हेटौडा सडकखण्ड अवरुद्ध भएको छ । बुधबार राति करिब ९ बजे खसेको पहिरोका कारण सडकको दुवैतर्फको आवागमन ठप्प भएको हो ।
धादिङ प्रहरीका अनुसार लगातार वर्षा भइरहेकाले पहिरो पन्छाउन कठिनाइ भइरहेको छ । पहिरो हटाउन बिहीबार बिहानैदेखि चारवटा उपकरण परिचालन गरिएको छ । वर्षा नरोकिएका कारण सडक खुलाउन थप समय लाग्न सक्ने प्रहरीले जनाएको छ ।
यसैबीच कृष्णभीरमा बाढीका कारण सडक भासिएपछि पृथ्वीराजमार्गसमेत अवरुद्ध छ । पृथ्वीराजमार्ग बन्द भएपछि काठमाडौँ आवतजावत गर्ने सवारीसाधन हेटौंडा-काठमाडौं जोड्ने वैकल्पिक सडकतर्फ मोडिएका छन् ।
वैकल्पिक मार्गमा सवारीसाधनको चाप बढेपछि हेटौंडा-काठमाडौं जोड्ने तीनवटै रुटमा आवागमन प्रभावित भएको छ । एकैपटक ठूलो संख्यामा सवारीसाधन वैकल्पिक सडकमा प्रवेश गरेपछि यात्रुले लामो समयसम्म जाम र असहज यात्राको सामना गर्नुपरेको छ ।