गृहमन्त्रीको धम्कीपूर्ण अभिव्यक्तिप्रति पत्रकार महासंघ अध्यक्ष शर्माको आपत्ति

दियोपोस्ट संवाददाता

काठमाडौँ । जेनजी शहीद दिवसका अवसरमा पत्रकारलाई लक्षित गर्दै गृहमन्त्री सुधन गुरुङले दिएको धम्कीपूर्ण अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले आपत्ति जनाएकी छन् ।

जेनजी विद्रोह भएको एक वर्ष पुगेको अवसरमा भदौ २३ गते आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी गृहमन्त्री गुरुङले चार जना पत्रकारको नामै उल्लेख गर्दै ‘सुध्रिन’ चेतावनी दिएको विषयप्रति अध्यक्ष शर्माले आपत्ति जनाएकी हुन् ।

अध्यक्ष शर्माले सत्तालाई प्रश्न गरेकै कारण पत्रकारलाई धम्की दिनु अत्यन्तै आपत्तिजनक भएको बताएकी छन् । समाचार लेखेकै आधारमा सरकारका जिम्मेवार मन्त्रीबाट धम्कीपूर्ण अभिव्यक्ति आउनु प्रेस स्वतन्त्रताको मर्मविपरीत भएको उनको भनाइ छ ।

‘सत्तालाई प्रश्न गर्दा हिजो पनि पत्रकार टार्गेटमा थिए, आज पनि छन्,’ शर्माले भनेकी छन्, ‘जुन जगमा सरकार बनेको हो, त्यही सरकारका गृहमन्त्रीले पत्रकारलाई समाचार लेखेकै भरमा र सत्तालाई प्रश्न गरेकै आधारमा धम्की दिएका छन् । यो घोर आपत्तिजनक छ ।’

उनले गृहमन्त्री गुरुङले प्रयोग गरेका धम्कीपूर्ण शब्द तत्काल फिर्ता लिएर सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेकी छन् । लोकतन्त्रमा पत्रकारलाई तर्साएर शासन गर्न खोज्ने कुनै पनि सरकारको आयु लामो नहुने उनको टिप्पणी छ ।

पत्रकार तथा सञ्चार क्षेत्रले विगतदेखि नै लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा संघर्ष गर्दै आएको स्मरण गराउँदै शर्माले कुनै पनि प्रकारको धम्कीबाट नेपाली सञ्चारमाध्यम नडराउने स्पष्ट पारेकी छन् ।

‘हामी पञ्चायतविरुद्ध पनि लडेकै हौँ । राजाले २०६२-६३ मा ‘कू’ गर्दा पनि लडेकै हौँ । त्यसकारण सुधन गुरुङ प्रवृत्तिबाट नेपाली मिडिया डराउँदैन,’ उनले भनेकी छन् ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक ग्यारेन्टी रहेको उल्लेख गर्दै शर्माले जिम्मेवार पत्रकारिता गरिरहेका पत्रकारले कसैसँग डराउनुपर्ने अवस्था नरहेको बताएकी छन् । प्रेस स्वतन्त्रताको अधिकार कुनै पनि सरकार वा मन्त्रीले खोस्न नसक्ने उनको छ ।