चट्याङ लागेर एक जनाको मृत्यु, दुई गम्भीर घाइते

दियोपोस्ट संवाददाता

काठमाडौँ । संखुवासभाको पाँचखपन नगरपालिका-८ पोख्राङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

गएराति हुरीवर्षासँगै परेको चट्याङ लागेर अलैँची भट्टीमा अलैँची केलाउँदै गरेका पाँचखपन-८ का २८ वर्षीय उमेश दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए ।

चट्याङ लागेर गम्भीर घाइते भएका दाहाललाई पाँचखपन आधारभूत अस्पताल, वानामा लगिएको थियो। अस्पताल भर्ना गरेलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

त्यस्तै, चट्याङ लागेर सोही ठाउँका ६४ वर्षीय पुष्पलाल कट्वाल र ६२ वर्षीय छत्रबहादुर दाहाल गम्भीर घाइते भएका छन् । उनीहरूको पाँचखपन आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।