यशोदा ग्रुपद्वारा बाढी प्रभावितका लागि साढे ३ करोड सहयोग

दियोपोस्ट संवाददाता

काठमाडौँ । बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाका लागि यशोदा ग्रुपले ३ करोड ५१ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ । यशोदा फुड्स प्रालि र श्रीराम टोबाकोले संयुक्त रूपमा उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्।

रकम बराबरको चेक यशोदा ग्रुपका अध्यक्ष कमल किशोर मालपानी र चेयरमेन चुन्न प्रसाद शर्माले संयुक्त रूपमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।

यसअघि पनि कम्पनीले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा ३० लाख रुपैयाँ बराबरको ‘करेन्ट’ चाउचाउ राहतस्वरूप पठाएको जनाएको छ। सम्बन्धित निकाय र प्रभावित नागरिकमार्फत आश्रयस्थलमा रहेका पीडितलाई उक्त चाउचाउ वितरण गरिएको कम्पनीले जनाएको छ।

आवश्यक परे थप चाउचाउ तथा अन्य राहत सामग्री उपलब्ध गराउन कम्पनी तयार रहेको जनाइएको छ। विपद्को अवस्थामा आवश्यक पर्ने अन्य सहयोगका लागि समेत यशोदा ग्रुप प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ।