
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुने संख्या १ हजार ३ सय ७२ पुगेको छ । जनाको शव फेला परेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार बिहीबार बिहान ०८ बजे सम्म १ हजार ३ सय ७२ जनाको शव फेला परेको हो ।
जसमध्ये रसुवामा १ सय ७८ जना, नुवाकोटमा १ सय ९७ जना, धादिङमा ७० जना, चितवनमा ३ सय ६३ जना, गोरखामा ७७ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय २७ जना र नवलपरासी पश्चिम २ सय २२ जना गरी १ हजार ३ सय ७२ जनाको शव फेला परेको हो ।
फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना संकलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार १ सय ४८ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको प्रहरीले जनाएको छ । शव पहिचानका लागि मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ६ सय १६ गरी कुल २ हजार ९ सय २ वटा डिएनए नमुना संकलन गरिएको छ । साथै पहिचान नभएको १ हजार २ सय ९५ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ७७ जनाको खोजी कार्य भइरहेको छ । यसै गरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा २ हजार ९ सय ८९ जना व्यक्तिहरूलाई राखिएको छ ।