ग्यास नपाएको बिरोधमा विद्यार्थीहरूले सडकमै दाउरा बालेर पकाए खाना

दियोपोस्ट संवाददाता

काठमाडौँ । खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदै गएपछि अखिल क्रान्तिकारीका विद्यार्थीहरूले काठमाडौँको प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस अगाडि सडकमा दाउरा बालेर खाना पकाएका छन् ।

ग्यासको अभावले सर्वसाधारणको दैनिक जीवन प्रभावित भइरहँदा सरकारले प्रभावकारी कदम चाल्न नसकेको भन्दै विद्यार्थीहरूले बिरोधस्वरुप सडकमै दाउरा बालेर खाना पकाएका हुन् ।

ग्यासको सहज आपूर्ति गर्न नसकेको भन्दै सरकारको विरोधमा विद्यार्थीहरूले सडकमा इँटा राखेर अस्थायी चुलो बनाएका थिए । त्यसमा दाउरा बालेर खाना पकाउनुका साथै उनीहरूले सडकमा नै बसेर खाना खाएका थिए ।

उनीहरूले तत्काल सहज रूपमा ग्यास उपलब्ध गराउन सरकारसँग मागसमेत गरेका छन् । भोटेकोशी-त्रिशूलीमा आएको बाढीपछि पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक क्षतिग्रस्त भएर मुख्य आपूर्ति मार्ग अवरुद्ध हुँदा काठमाडौँ उपत्यकामा एलपी ग्यासको आपूर्ति प्रभावित भएको हो । वैकल्पिक मार्गबाट ग्यास ल्याउने प्रयास भइरहे पनि मागअनुसार आपूर्ति हुन नसक्दा उपभोक्ताले ग्यासका लागि लामो समय लाइन बस्नुपरेको छ ।

नेपाल आयल निगमका अनुसार बुधबार मात्रै उपत्यकामा २२ वटा ग्यास उद्योगले ४६ हजार ९ सय ७६ सिलिन्डर बजारमा पठाएका थिए। त्यसअघिको दिन भने ९ वटा कम्पनीबाट १८ हजार २ सय ५९ सिलिन्डर मात्रै डिलरसम्म पुगेका थिए ।

यसैबीच नेपाल एलपी ग्यास उद्योग संघले भने आपूर्ति नियमित बनाउन प्रयास भइरहेको जनाउँदै उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न आग्रह गरेको छ ।