
काठमाडौँ । सरकारले देशका १२ वटा संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कम्तीमा ५० शव अट्ने क्षमताको शवगृह निर्माण तथा क्षमता विस्तार गर्ने भएको छ।
हालैको भोटेकोशी बाढीपछि ठूलो सङ्ख्यामा शव व्यवस्थापन गर्न कठिनाइ भएपछि सरकारले विपद्का समयमा सहज रूपमा शव व्यवस्थापन गर्न सकिने गरी अस्पतालमै पर्याप्त क्षमताको शवगृह निर्माण गर्ने योजना अघि सारेको हो।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले विपद् व्यवस्थापनबाट प्राप्त सिकाइका आधारमा भविष्यमा यस्ता समस्या दोहोरिन नदिन संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पर्याप्त क्षमताको शवगृह आवश्यक रहेको बताइन्।
मन्त्रालयका अनुसार कोशी अस्पताल, नारायणी अस्पताल, गजेन्द्र नारायण सिंह अस्पताल, भरतपुर अस्पताल, भेरी अस्पताल र डडेलधुरा अस्पतालमा शवगृह निर्माण तथा क्षमता विस्तारको प्रक्रिया अघि बढाइनेछ।
त्यस्तै, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकपटकमा कम्तीमा ५० शव व्यवस्थापन गर्न सक्ने क्षमताको शवगृह निर्माण तथा क्षमता विस्तार गरिनेछ।
मन्त्रालयले विपद् पूर्वतयारी र प्रतिकार्य क्षमता सुदृढ गर्दै शव व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित, मर्यादित र वैज्ञानिक बनाउन यस्तो पूर्वाधार विकास गर्न लागेको जनाएको छ। यसबाट फरेन्सिक तथा मेडिको–लिगल सेवा विस्तारमा समेत सहयोग पुग्ने मन्त्रालयको अपेक्षा छ।