
काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ रुपैयाँ बराबरको रकम जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बिहीबार बिहान ९ बजेसम्म विभिन्न नौवटा बैंकमा ९ अर्ब १४ करोड ३९ लाख ९८ हजार ५०३ रुपैयाँ जम्मा भएको छ ।
त्यस्तै, कोषका दुईवटा बैंक खातामा २ करोड १६ लाख ३७ हजार ६९१ अमेरिकी डलर मौज्दात रहेको छ । नेपाली रुपैयाँ र अमेरिकी डलर खातामा रहेको रकमलाई नेपाली मुद्रामा हिसाब गर्दा कोषमा कुल १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ रुपैयाँ बराबरको रकम उपलब्ध रहेको कार्यालयले जनाएको छ ।
कोषमा भदौ २५ गते मात्रै नेपाली रुपैयाँतर्फ १७ करोड २५ लाख ६९ हजार ६७५ रुपैयाँ थपिएको थियो । सोही दिन अमेरिकी डलरतर्फ २ लाख ७४ हजार ६२ डलर संकलन भएको कार्यालयको विवरणमा उल्लेख छ ।
यसअघि रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि कोषबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत एक अर्ब रुपैयाँ निकासा गरिएको थियो ।