आपूर्ति मन्त्री गौरी कुमारी यादवले दिइन् पदबाट राजीनामा

दियोपोस्ट संवाददाता

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले पदबाट राजीनामा दिएकी छन् । ग्यास उद्योगीलाई ‘पाता कस्नुपर्ने’ भन्दै दिएको विवादित अभिव्यक्तिपछि आलोचनामा परेकी यादवले बिहीबार प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएकी हुन् ।

यादवको राजीनामा स्वीकृतिका लागि प्रधानमन्त्रीसमक्ष बुझाइएको उनको सचिवालयले जनाएको छ । ग्यास आपूर्ति तथा उद्योगीहरूसँगको विवादका क्रममा उनले दिएको अभिव्यक्तिलाई लिएर व्यवसायी क्षेत्रबाट तीव्र असन्तुष्टि व्यक्त हुँदै आएको थियो । विवाद थप चकिँदै गएपछि राजनीतिक तथा सार्वजनिक दबाबसमेत बढेको अवस्थामा उनले राजीनामा दिएको बताइएको छ ।

राजीनामा दिँदै यादवले मन्त्रालयको जिम्मेवारी सम्हाल्ने क्रममा उत्पन्न विवाद र आफ्नो अभिव्यक्तिका कारण सरकार तथा मन्त्रालयको कामकारबाहीमा असर नपरोस् भन्ने उद्देश्यले पदबाट अलग हुने निर्णय लिएको बताएकी छन् ।

यादवले गत चैत २७ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीका रूपमा शपथ लिएकी थिइन् । उनी महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।