राजीनामापछि भावुक हुँदै मन्त्रालयबाट बाहिरिइन् आपूर्तिमन्त्री गौरीकुमारी यादव

दियोपोस्ट संवाददाता

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव राजीनामा दिएपछि भावुक हुँदै मन्त्रालयबाट बाहिरिएकी छन् । इन्धन तथा एलपी ग्यासको आपूर्ति सहज बनाउन नसकेको तथा ग्यास उद्योगीलाई ‘पाता कस्ने’ अभिव्यक्ति दिएपछि विवादमा तानिएकी यादवले बुधबार मन्त्री पदबाट राजीनामा दिएकी हुन् ।

राजीनामा बुझाएर मन्त्रालयबाट बाहिरिने क्रममा यादव निकै भावुक देखिएकी थिइन् । मन्त्रालय परिसरमा रहेका सञ्चारकर्मीका अनुसार उनको आँखामा आँसु देखिएको थियो ।
मन्त्रालयबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीले विभिन्न प्रश्न गरे पनि यादवले कुनै प्रतिक्रिया दिइनन् । उनी मौन रूपमा त्यहाँबाट बाहिरिएकी थिइन् ।

यसअघि तत्कालीन श्रममन्त्री दीपक साहले राजीनामा दिएपछि भएको मन्त्रिपरिषद् हेरफेरका क्रममा यादव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारीमा पुगेकी थिइन् । तर, मन्त्रालयको जिम्मेवारी सम्हालेको केही समयमै उनी इन्धन तथा ग्यास आपूर्ति व्यवस्थापन र आफ्नै अभिव्यक्तिका कारण विवादमा परिन् ।

अन्ततः विवाद चुलिँदै गएपछि यादवले मन्त्री पदबाट राजीनामा दिएकी हुन् ।