२५ सय रुपैयाँ नहुँदा अस्पतालले हप्काएर निकालिदियो, मध्यरातमा फुटपाथमै सुत्केरी भईन वविता

दियोपोस्ट संवाददाता

राजविराज । प्रसव पीडाले छट्पटाइरहेकी एक विपन्न महिलालाई उपचारका लागि पुगेको सरकारी अस्पतालले पैसा पैसा तिर्न नसकेको भन्दै भर्ना लिन नमानेपछि उनले अस्पतालकै अगाडिको फुटपाथमा बच्चा जन्माउनुपरेको घटनाले चर्चा पाएको छ ।

राजविराज नगरपालिका-१४ पर्साहीकी बबिता पासवान मंगलबार राति करिब डेढ बजे सुत्केरी व्यथा लागेपछि श्रीमान् हरेराम पासवान र दुई जना आफन्त महिलासहित रिक्सामार्फत गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल पुगेकी थिइन् ।

अस्पताल पुगेपछि प्रसूति विभागमा खटिएकी स्टाफ नर्सले अल्ट्रासाउन्ड तथा रगत र पिसाब परीक्षण गर्नुपर्ने बताएको बबिताको भनाइ छ । ती परीक्षणका लागि करिब २ हजार ५ सय रुपैयाँ लाग्ने जानकारी पाएपछि उनले आफू विपन्न रहेको र तत्काल पैसा नभएको बताइन् ।

बबिताका अनुसार यसअघि उनका तीन सन्तान सामान्य रूपमा जन्मिएका थिए र कुनै परीक्षण गराएकी थिइनन् । त्यसैले तत्काल भर्ना गरेर बिहान परीक्षण गराइदिन उनले आग्रह गरेकी थिइन् ।

तर, उनको आग्रह सुनुवाइ भएन । ‘बिहान भएपछि अल्ट्रासाउन्ड गराउँछु, जाँच गराउँछु, अहिले भर्ना गरिदिनुस् भनेँ,’ बबिताले भनेकी छन्, ‘तर जाँचविना भर्ना नलिने भन्दै हप्काएर निकालिदिनुभयो ।’

अस्पतालबाट बाहिरिएपछि उनीहरू नजिकैको एउटा औषधि पसल अगाडि पुगे । बबिताले त्यहीँबाट चिकित्सक बोलाएर जाँच गराइदिन आग्रह गरिन् । औषधि पसलेले बिहान चिकित्सक आएपछि जाँच गराइदिने भन्दै त्यहीँ बस्न भनेको परिवारको भनाइ छ ।

तर बिहान कुर्न पाएन । केहीबेरमै प्रसव पीडा असह्य भएपछि बबिता फुटपाथमै छट्पटाउन थालिन् । उनीसँगै रहेका आफन्त महिलाले स्याहार गरिरहे । श्रीमान् हरेराम असहाय बनेर वरिपरि हेरिरहे ।

अन्ततः अस्पतालको ढोकाबाट केही दूरीमै बबिताले छोरालाई जन्म दिइन् । घटनाको सीसीटीभी फुटेज सार्वजनिक भएपछि भने यो विषयले देशभर ध्यान तानेको छ । फुटेजमा बबिता फुटपाथमा प्रसव पीडाले छट्पटाइरहेको, उनका आफन्तले स्याहार गरिरहेको र केहीबेरपछि त्यहीँ शिशु जन्मिएको दृश्य देखिन्छ ।

शिशु जन्मिएपछि परिवारले सालनालसहित बच्चालाई लिएर पुनः अस्पताल पुगेको बबिताको दाबी छ । तर त्यसबेला पनि आफूलाई भर्ना नगरिएको उनले बताएकी छन् ।

‘खाली बेडमा सुत, जे हुन्छ हुन्छ भनेर सासु पर्ने महिलाले भन्नुभयो । म सुत्न खोजेँ,’ उनले भनेकी छन्, ‘तर ती स्वास्थ्यकर्मी दिदीले यहाँबाट भाग, नभए धक्का दिएर निकालिदिन्छु भनेर धम्क्याउनुभयो । त्यसपछि बाध्य भएर घर फर्कियौँ ।’

तर, घटनाबारे अस्पताल प्रशासनको भनाइ भने बबिताको दाबीभन्दा फरक छ । अस्पतालका ‘फ्री हेल्थ सर्भिस’ फोकल पर्सन मनोज देवले बबिता राति करिब २ बजे अस्पताल आएपछि २४ नम्बर बेडमा भर्ना भएको दाबी गरेका छन् ।

उनका अनुसार प्रारम्भिक परीक्षणपछि बबिताले गर्भावस्थामा आवश्यक स्वास्थ्य परीक्षण नगराएको पाइएपछि थप परीक्षणका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीले उनलाई ल्याबमा पठाएका थिए ।

‘उहाँहरू ल्याबमा गएर त्यतैबाट निस्किनुभयो,’ देवको दाबी छ, ‘बिहान ५ बजे शिशु जन्मेपछि अस्पतालमा मात्र आउनुभयो । यही सालनाल काटेर पठाउने काम भयो ।’

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रञ्जितकुमार झाले भने आफू काठमाडौँमा रहेका बेला सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि मात्रै घटनाबारे जानकारी पाएको बताएका छन् । मेडिकल सुपरिटेन्डेन्ट झाले घटनाको छानबिन गर्न समिति गठन गर्ने बताएका छन् ।

यो घटना एउटा विपन्न परिवारसँग तत्काल २ हजार ५ सय रुपैयाँ नभएको विषयमा मात्र सीमित छैन । यसले सरकारी अस्पतालमा आपत्कालीन अवस्थामा पुगेकी गर्भवतीको पहिलो प्राथमिकता उपचार हो कि शुल्क र परीक्षणरु भन्ने गम्भीर प्रश्न उठाएको छ ।

कानुनले सरकारी तथा निजी अस्पतालमा विपन्न तथा गरिबका लागि निश्चित प्रतिशत शय्या छुट्याउने व्यवस्था गरेको छ । तर संघीय सरकारअन्तर्गतको अस्पतालकै अगाडि एक विपन्न महिलाले प्रसव पीडा सहँदै सडकमा बच्चा जन्माउनुपरेको दृश्य सार्वजनिक भएपछि उक्त व्यवस्था व्यवहारमा कति लागू भइरहेको छ भन्ने प्रश्नसमेत उठेको छ ।

एकातिर अस्पतालले महिला भर्ना भएको र परीक्षणका लागि ल्याब पठाइएको दाबी गरिरहेको छ भने अर्कोतिर महिलाले पैसा नभएकै कारण आफूलाई अस्पतालबाट निकालिएको बताइरहेकी छन् ।

त्यसैले अहिलेको मुख्य प्रश्न बच्चा कहाँ जन्मियो भन्ने मात्र होइन, बच्चा जन्मिनुअघि अस्पतालभित्र के भयो? त्यसको निष्पक्ष छानबिनले मात्रै फुटपाथमा सुत्केरी हुनुपर्ने अवस्थाको वास्तविक जिम्मेवार को हो भन्ने टुंगो लगाउन सक्छ ।