
काठमाडौँ । नेपालमा केएफसी र पिज्जा हट सञ्चालन गरिरहेको देवयानी इन्टरनेशनलले भोटेकोशी बाढीपीडितका लागि ३१ लाख रूपैया सहयोग गरेको छ । बिहीबार कम्पनीको तर्फबाट उक्त्त रकम बराबरको चेक हस्तान्तरण गरिएको हो ।
सहयोग रकम बराबरको चेक देवयानी इन्टरनेशनल ग्रुपका निर्देशक सञ्जीव अरोरा, चिफ फाइनान्स अफिसर ऋतुराज शाह, कन्ट्री हेड विजय शर्मा र रवीन्द्र पाण्डेले संयुक्त रूपमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।
कम्पनीले विपद्को कठिन घडीमा प्रभावित समुदायलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको जनाएको छ । यस पहलले सामाजिक उत्तरदायित्व तथा मानवीय कल्याणप्रतिको आफ्नो प्रतिबद्धतालाई थप सशक्त बनाएको कम्पनीको भनाइ छ ।
देवयानी ग्रुपले प्राकृतिक विपद्बाट प्रभावित समुदायको पुनरुत्थान, पुनःस्थापना तथा समग्र कल्याणमा योगदान पुर्याउँदै संकटका समयमा आवश्यक सहयोग निरन्तर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
देवयानी इन्टरनेशनलले नेपालमा केन्टुकी फ्राइड चिकेन (केएफसी) र पिज्जा हटको सञ्चालन र बिक्री वितरण गरिरहेको छ ।