
भरतपुर । चितवनको भरतपुर महानगरपालिका-९ वसन्तचोकमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ । आगलागीपछि कारभित्र एक जना व्यक्ति जलेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । मृतकको नाम, थर र ठेगाना भने खुल्न सकेको छैन ।
प्रहरीका अनुसार शुक्रबार बिहान करिब ६ बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र.०१-०३० च ५५७९ नम्बरको विद्युतीय कारमा अचानक आगलागी भएको थियो ।
कारमा आगलागी भएको सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो । दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएपछि कारभित्र एक जना व्यक्ति जलेर मृत अवस्थामा फेला परेका हुन् ।
आगलागीबाट कार पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । मृतकको पहिचान तथा आगलागीको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।