
काठमाडौँ । भोटेकोशीमा आएको भीषण हिमबाढीका कारण अवरुद्ध रसुवाको सडक सम्पर्क पुनः जोडिएको छ । नेपाली सेनाले नुवाकोटको तादी खोलामाथि ७२ घण्टाको ‘रनिङ टाइम’मा बेलिब्रिज निर्माण गरेपछि गल्छी-देवीघाट-त्रिशूली हुँदै मैलुङ, स्याफ्रुबेँसी र रसुवागढीसम्मको सडक सम्पर्क सञ्चालनमा आएको हो ।
भदौ १० गते आएको हिमबाढीले रसुवातर्फ जाने सडक तथा पुलमा क्षति पुर्याएपछि उत्तरी रसुवाको बाहिरी जिल्लासँगको स्थल सम्पर्क प्रभावित भएको थियो । सडक सम्पर्क विच्छेद हुँदा स्थानीयवासीको आवागमनसँगै प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाका कामसमेत प्रभावित भएका थिए ।
बाढीबाट क्षतिग्रस्त सडक सञ्जालमा तादी खोलाले थपेको अवरोध हटाउन नेपाली सेनाको नं. १४ बाहिनी अड्डाअन्तर्गतको इन्जिनियरिङ टोली परिचालन गरिएको थियो । सडक विभाग र स्थानीय तहसँगको समन्वयमा टोलीले ५७ दशमलव ९ मिटर लामो र ५ दशमलव ५ मिटर चौडा ‘एक्रो ब्रिज’ निर्माण गरेको बताइएको छ ।
६० टन भारवहन क्षमता रहेको उक्त पुल बिहीबारदेखि सवारीसाधनका लागि सञ्चालनमा आएको छ । सेनाले भदौ २० गतेबाट निर्माण सुरु गरेको पुल सामग्री ढुवानीको समयसमेत जोड्दा पाँच दिनमा सम्पन्न भए पनि वास्तविक निर्माण अवधि ७२ घण्टा रहेको जनाएको छ ।
पुल निर्माणमा नेपाली सेनाका ५५ जना इन्जिनियरिङ जनशक्ति अहोरात्र खटिएका थिए । खोलाको तीव्र बहाव, मौसम तथा भौगोलिक कठिनाइका बीच टोलीले निरन्तर काम गरेर निर्धारित समयभन्दा कम अवधिमै पुल निर्माण सम्पन्न गरेको सेनाको भनाइ छ ।
निर्माण सम्पन्न भएपछि पुल सडक आयोजना र विदुर नगरपालिकालाई संयुक्त रूपमा हस्तान्तरण गरिएको छ । हस्तान्तरण कार्यक्रममा उपरथी रन्जित थापाले विपद्का बेला छोटो समयमै महत्वपूर्ण संरचना निर्माण गर्न सक्नु सेनाको पूर्वतयारी र प्राविधिक क्षमताको परिणाम भएको बताए ।
उनका अनुसार पुल निर्माणमा आवश्यक सामग्री देशका विभिन्न रणनीतिक स्थानमा पहिल्यै भण्डारण गरेर राखिएकाले तत्काल परिचालन गर्न सहज भएको हो ।
नेपाली सेनाको नं. १४ बाहिनीका बाहिनीपति सहायकरथी जगदीश खड्काका अनुसार तादी खोलाको पुलका लागि गजुरीमा भण्डारण गरिएको सामग्री तत्काल निर्माणस्थलमा ल्याइएको थियो ।
पुल सञ्चालनमा आएसँगै गल्छीदेखि देवीघाट हुँदै त्रिशूलीसम्मको करिब २६ किलोमिटर सडकखण्डमा आवागमन थप सहज भएको छ । यससँगै गल्छीतर्फ जाने तथा गल्छीबाट देवीघाट-त्रिशूली हुँदै उत्तरी क्षेत्रतर्फ जाने सवारीसाधनका लागि वैकल्पिक पहुँचसमेत सहज भएको छ ।
भोटेकोशी हिमबाढीपछि तत्काल उद्धारलाई प्राथमिकतामा राखेको नेपाली सेनाले अहिले प्रभावित क्षेत्रलाई सामान्य अवस्थामा फर्काउने कामलाई पनि तीव्रता दिएको छ । सडक, पुललगायत पहुँच संरचनाको पुनःस्थापनालाई प्राथमिकतामा राखिएको सेनाले जनाएको छ ।
तादी खोलामा छोटो समयमै पुल निर्माण भएर पुनः सवारीसाधन सञ्चालनमा आएपछि स्थानीयवासीले राहत महसुस गरेका छन् ।


