
काठमाडौँ । नेपालमा अष्ट्रेलियन ब्रान्ड आईविवीका डायपर तथा बेबी केयर उत्पादनको आधिकारिक वितरक शुभम् हेल्थ केयर प्रोडक्ट्स प्रालिले भोटेकोशी बाढीपीडितको राहतका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ ।
कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी उक्त रकम सहयोग गरेको हो । आईविवी नेपालकी प्रबन्ध निर्देशक ब्यूटी कुमारी सर्राफले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेकी हुन् ।
चेक हस्तान्तरण गर्दै सर्राफले विपद्को समयमा प्रभावित परिवारलाई सहयोग गर्न पाएकोमा गौरव महसुस भएको बताइन् । उनले आईविवीका उत्पादन खरिद गर्ने उपभोक्ता, रिटेलर तथा डिलरहरूको साथ र विश्वासका कारण तीन दिनमै ५० लाख रुपैयाँ सहयोग जुटाउन सम्भव भएको बताइन् ।
उनका अनुसार पछिल्ला तीन दिनमा आईविवीका उत्पादन खरिद गर्दा उपभोक्ताले खर्च गरेको रकमलाई आधार बनाएर ५० लाख रुपैयाँ राहत कोषमा जम्मा गरिएको हो ।
‘आईविवीका उत्पादन खरिद गरेर उपभोक्ताले दिएको साथबाट नै यो सहयोग सम्भव भएको हो,’सर्राफले भनिन्, ‘उपभोक्ताले हाम्रा उत्पादन नकिनिदिएको भए तीन दिनमै ५० लाख रुपैयाँ जम्मा हुने थिएन ।’
आईविवीले विपद्बाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले आफ्ना उपभोक्ता, रिटेलर तथा डिलर नेटवर्कलाई समेत सहभागी गराएर राहत अभियान सञ्चालन गरेको जनाएको छ।