ग्यासको कालोबजारी गरेको आरोपमा मूलपानीस्थित ‘अनिल खाद्य’ किरानालाई ३ लाख रुपैयाँ जरिवाना

दियोपोस्ट संवाददाता

काठमाडौँ । एलपी ग्यासको अभावलाई मौका छोपेर उपभोक्तासँग चर्को मूल्य असुल्ने व्यवसायीमाथि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही थालेको छ । विभागको अनुगमन टोलीले काठमाडौँको मूलपानीस्थित बाबा चोकमा रहेको अनिल खाद्य किराना पसललाई ३ लाख रुपैयाँ जरिवाना गरेको हो ।

उक्त पसलले सुगम ग्यासको एक सिलिन्डर २ हजार ६ सय रुपैयाँमा बिक्री गरेको प्रमाण फेला परेपछि कारबाही गरिएको विभागले जनाएको छ । ग्यास अभावको मौका छोपेर उक्त पसलले चर्को मूल्यमा ग्यास बिक्री गरिरहेको भन्ने गोप्य उजुरी परेपछि विभागले अनुगमन गरेको थियो । अनुगमनका क्रममा उपभोक्ताबाट २ हजार ६ सय रुपैयाँ लिएको प्रमाणसमेत फेला परेको विभागका निर्देशक अनिल किराँतीले जानकारी दिए ।

उनका अनुसार प्रमाणसहित फेला परेकाले सोही आधारमा कारबाही प्रक्रिया अघि बढाइएको हो । विभागले यसअघि पनि ग्यासमा कालोबजारी तथा कृत्रिम अभाव सिर्जना गरेको आरोपमा एक व्यवसायीलाई ३ लाख रुपैयाँ जरिवाना गरिसकेको जनाएको छ ।

विभागले मंगलबारदेखि ग्यास उद्योग, डिपो तथा विक्रेतालाई केन्द्रित गरेर बजार अनुगमन तीव्र बनाएको छ । बिहीबार मात्रै ग्यास उद्योग र डिपो गरी १० स्थानमा अनुगमन गरिएको विभागले जनाएको छ ।

अनुगमनका क्रममा अधिकांश स्थानमा ग्यासको आपूर्ति नभएको र सयौँ उपभोक्ता सिलिन्डर लिन लामो लाइनमा बसेको पाइएको विभागको भनाइ छ ।

उपत्यकामा पछिल्लो समय एलपी ग्यासको अभावसँगै कालोबजारीसमेत बढेको छ । असारको अन्तिम सातादेखि नै सहज रूपमा ग्यास नपाएका उपभोक्तालाई भदौ १० गते भोटेकोशीमा आएको हिमबाढी तथा त्यसपछि पृथ्वी राजमार्गको कृष्णभिरमा गएको पहिरोले थप समस्या पारेको हो ।

कृष्णभिरमा सडक अवरुद्ध भएपछि ग्यास बुलेट उपत्यकासम्म आउन नसक्दा आपूर्ति शृङ्खला प्रभावित भएको छ । काठमाडौँ उपत्यकामा ग्यास सिलिन्डर भर्ने १९ वटा प्लान्ट रहे पनि पर्याप्त बुलेट नआउँदा ती प्लान्टले नियमित रूपमा ग्यास भर्न सकेका छैनन् ।

व्यवसायीहरूले हेटौँडा, वीरगन्ज, नवलपरासी, धनुषालगायतका क्षेत्रबाट ग्यास भरेर वैकल्पिक मार्ग हुँदै उपत्यकामा ल्याइरहेका छन् । वैकल्पिक सडक प्रयोग गर्दा ढुवानी खर्च बढेको भन्दै एलपी ग्यास उद्योग सङ्घले नेपाल आयल निगमले तोकेको प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमा थप १ सय ५ रुपैयाँ ३८ पैसा जोडेर बिक्री गर्न आग्रह गरेको छ ।

तर उपभोक्ता भने २ हजार ६ सयदेखि ३ हजार रुपैयाँसम्म तिर्न तयार हुँदा पनि सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरिरहेका छन् ।

नेपाल आयल निगमका अनुसार सामान्य अवस्थामा काठमाडौँ उपत्यकामा दैनिक ३५ हजारदेखि ४० हजार सिलिन्डर एलपी ग्यास आवश्यक पर्छ । तर अहिले दैनिक औसत ३० हजार सिलिन्डर मात्रै उपत्यकामा भित्रिइरहेको छ ।

आपूर्ति घटेको अवस्थामा समेत केही व्यवसायीले उपभोक्तामाथि थप मूल्यको भार थोपरेको भन्दै विभागले अनुचित व्यापारिक क्रियाकलाप नियन्त्रणका लागि अनुगमन र कारबाहीलाई निरन्तरता दिने जनाएको छ ।