‘ग्रिन आर्मी’ विरुद्ध सर्वोच्च अदालतमा रिट, दर्ता खारेजीको माग

दियोपोस्ट संवाददाता

काठमाडौँ । ‘ग्रिन आर्मी नेपाल’ विरुद्ध शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । रसुवागढीमा आएको बाढीपछि प्रभावितको उद्धार तथा राहतमा खटिएको ग्रिन आर्मीले नेपाली सेनाको जस्तै पोसाक, दर्जा र चिह्न प्रयोग गरी परिचालन भएको आरोप लगाउँदै सर्वोच्चमा रिट दायर गरिएको हो।

अधिवक्ताहरू साम्बराज अर्याल, पूर्णबहादुर साउद, गोविन्दराम परियार र विष्णुवर सिंह थापाले नेपालको संविधान तथा प्रचलित कानुनविपरीत गैरसरकारी संस्थाले सैनिक प्रकृतिको संरचना, पोसाक, दर्जा र चिह्न प्रयोग गरेको दाबी गर्दै रिट दायर गरेका हुन्।

रिटमा ग्रिन आर्मीको दर्ता खारेज गर्न माग गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, समाज कल्याण परिषद्, जिल्ला प्रशासन कार्यालय काठमाडौं, गोकर्णेश्वर नगरपालिका र कम्पनी रजिस्ट्रारको कार्यालयलाई विपक्षी बनाइएको छ।

शुक्रबार दायर भएको रिटको पहिलो पेसी आगामी सोमबारका लागि तोकिएको छ।

सम्बन्धित खबर

सिफारिस