संस्कृतिलाई सिनियर ब्वाइज, निस्टलाई गल्र्स र डाफोडिललाई जुनियर ब्वाइजको उपाधि

दियोपोस्ट संवाददाता

काठमाडौँ । संस्कृति इन्टरनेसनल स्कुल, निस्ट र डाफोडिलले प्रथम आईडब्लुएस बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् ।

बूढानीलकण्ठस्थित आयोजक इम्पेरियल वल्र्ड स्कुलको कोर्टमा शुक्रबार भएको प्रतियोगितामा संस्कृति सिनियर ब्वाइज, निस्ट सिनियर गल्र्स र डाफोडिल जुनियर ब्वाइजतर्फ च्याम्पियन बने ।

सिनियर ब्वाइजको फाइनलमा संस्कृतिले निस्टलाई ६२-२९ ले पराजित गर्‍यो । संस्कृतिका अभिग्न श्रेष्ठले १९ अंक जोड्दै टोलीको जितमा महत्वपूर्ण योगदान दिए ।

सिनियर गल्र्सको फाइनलमा निस्टले काष्ठमण्डप विद्यालयलाई २८-२४ ले हरायो । निस्टका श्रृतु रिसाल र मानस्वी विष्टले समान ८-८ अंक बनाए ।

जुनियर ब्वाइजतर्फ डाफोडिलले प्रिमियर इन्टरनेसनललाई २८-२७ को रोमाञ्चक अन्तरले पराजित गर्दै उपाधि हात पार्‍यो । खेल सकिन तीन सेकेन्ड बाँकी रहँदा डाफोडिल दुई अंकले पछि परेको थियो । त्यसबेला पेम्बाले तीन अंकको स्कोर गर्दै डाफोडिललाई एक अंकको जित दिलाए । उनले व्यक्तिगत रूपमा १७ अंक जोडे ।

सिनियर ब्वाइजमा संस्कृतिका अभिग्न श्रेष्ठ, सिनियर गल्र्समा निस्टकी मानस्वी विष्ट र जुनियर ब्वाइजमा डाफोडिलका पेम्बा शेर्पा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

अभिग्न सर्वाधिक स्कोरकर्ता र पेम्बा उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । सिनियर ब्वाइजमा निस्टका समिन डि कार्की तथा सिनियर गल्र्समा निस्टकी श्रृतु रिसाल उत्कृष्ट ‘थ्री प्वाइन्टर’ बने । सिनियर गल्र्समा काष्ठमण्डपकी आराध्या ओझा तथा जुनियर ब्वाइजमा प्रिमियरका अदिश प्रधानाङ्ग सर्वाधिक स्कोरकर्ता भए ।

विजेतालाई नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, इम्पेरियलका अध्यक्ष कुमार कार्की र प्रिन्सिपल जुनिता कार्कीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

भदौ १५ गतेदेखि सुरु भएको प्रतियोगितामा सिनियर ब्वाइज, सिनियर गल्र्स र जुनियर ब्वाइज गरी तीनै विधामा समान ८-८ टिमले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता इम्पेरियलका स्टुडेन्ट्स इन्रिचमेन्ट को-ओर्डिनेटर रविन सुवेदीका अनुसार आयोजना गरिएको हो ।

सम्बन्धित खबर

सिफारिस