
रुकुमपश्चिम । रुकुमपश्चिममा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । आइतबार बिहान सानीभेरी गाउँपालिका-६ कोटबाट खलंगातर्फ जाँदै गरेको लु १ च ६०२९ नम्बरको डबल क्याप जीप दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार जीप सडकबाट करिब १०० मिटर तल खसेको थियो । दुर्घटनामा चालक र एक महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रमुख डिएसपी बेदबहादुर पौडेलले जानकारी दिए।
मृतक दुवै जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा अन्य नौ जना घाइते भएका छन्। तीमध्ये चार जनाको अवस्था गम्भीर रहेको र पाँच जना मध्यम घाइते रहेको प्रहरीले जनाएको छ।