
काठमाडौँ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ कोटाङबाट सिम्लीफर्क आउँदै गरेको जिप दुर्घटनामा मृत्यु भएका दुई जनाको सनाखत भएको छ।
मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका-रुघाका चालक सुन्दर खड्का मगर र सानीभेरी गाउँपालिका-६ की अन्दाजी १५-१६ वर्षीया प्रेमकला पुन रहेका छन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा अन्य नौ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ।
गम्भीर घाइतेलाई तत्काल उपचारका लागि सुर्खेत लैजानुपर्ने भएकाले जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले गृह मन्त्रालयसँग नेपाली सेनाको हेलिकोप्टर व्यवस्था गरिदिन अनुरोध गरेको छ।
जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयअन्तर्गत शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखालाई पत्र पठाउँदै सानीभेरीदेखि सुर्खेतसम्म घाइतेको हवाई उद्धार गर्न आग्रह गरेको हो।
गाउँपालिकाले उद्धारको खर्च व्यहोर्ने गरी हेलिकोप्टरको व्यवस्था गर्न अनुरोध गरिएको प्रशासनले जनाएको छ।