
काठमाडौँ । बाढी प्रभावित क्षेत्रमा सुरुवातदेखि नै उद्धार तथा राहतमा सक्रिय वाइसीएल नेपालले प्रभावित परिवारका लागि अस्थायी आवास निर्माण थालेको छ।
वाइसीएलले बाढी प्रभावित क्षेत्रमा करिब ६०० स्वयंसेवक नियमित रूपमा परिचालन गरी बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार, खाद्यान्न तथा आवश्यक राहत सामग्री वितरणलगायतका काम गर्दै आएको जनाएको छ।
वाइसीएलका अध्यक्ष पुष्प ओलीका अनुसार कठिन भूगोल र प्रतिकूल मौसमका बीच वैकल्पिक सडकमार्फत रसुवाका प्रभावित क्षेत्रमा ग्यास, पेट्रोल, सोलार लाइट, चामल, नुन, तेल, दाल, पावर बैंक, मोबाइल सेट, सेनिटरी प्याड, म्याट्रेसलगायत सामग्री पुर्याइएको छ।
त्यस्तै, सडक सञ्जाल विच्छेद भएपछि धादिङको कठिन भूगोल हुँदै नुवाकोटको विदुर नगरपालिका-७, ८ र ९ का अति प्रभावित क्षेत्रमा सिरक, डसना, तन्ना, औषधि, स्टेसनरी सामग्री, म्याट्रेस, खाद्यान्न, चप्पल तथा बालबालिकाका कपडालगायत सामग्री वितरण गरिएको ओलीले बताए।
राहत वितरणसँगै वाइसीएलले धादिङ र नुवाकोटका प्रभावित घरहरूको सरसफाइसमेत गरिरहेको जनाएको छ। स्थानीय बासिन्दाको सुझाव र आवश्यकताका आधारमा अस्थायी आवास निर्माण सुरु गरिएको ओलीले जानकारी दिए।
उनका अनुसार पहिलो चरणमा नुवाकोटको बेलकोटगढी नगरपालिका-७ अन्तर्गत ठूलो खोला, लामास्वती, रातमाटे र महादेवफाँटका प्रभावित परिवारका लागि १५० वटा अस्थायी आवास निर्माण गरिनेछ।
बाढीका कारण प्रभावित परिवारका घरहरू अझै सरसफाइ गर्न नसकिएको र बसोबासको समेत टुंगो नलागेको अवस्थालाई मध्यनजर गर्दै अस्थायी आवास निर्माण सुरु गरिएको वाइसीएलले जनाएको छ।
ओलीका अनुसार मातृ पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन तथा स्थानीय आवश्यकताका आधारमा राहत, उद्धार र पुनःस्थापनाका काम अघि बढाइएको छ।