सहरी बाढी नियन्त्रण गर्न महानगरको ‘रिचार्ज काठमाडौँ’ अभियान

दियोपोस्ट संवाददाता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान सञ्चालन गर्ने भएको छ ।

महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले आइतबार काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सवमा वर्षाको पानी संकलन गरी जमिनमा पुनर्भरण गर्ने उद्देश्यले अभियान अघि बढाउन लागिएको बताएकी हुन् ।

उनले काठमाडौँमा थोरै पानी पर्दासमेत बाढी आउने अवस्था सिर्जना भएको भन्दै यसको दीर्घकालीन समाधान खोज्नुपर्ने बताइन् । सहरी बाढीको समस्या समाधानका लागि महानगरपालिकाले अध्ययनसमेत गरिरहेको उनले जानकारी दिइन् ।

डंगोलका अनुसार विगतमा सहरी क्षेत्रमा भएका विकास तथा संरचना निर्माणबाट सिर्जित समस्यालाई क्रमशः सुधार गर्दै लैजान आवश्यक छ । करिब तीन दशकअघि सुरु भएका सहरी समस्या अहिले ‘अर्बन फ्ल्यास फ्लड’का रूपमा देखिन थालेको उनको भनाइ छ ।

काठमाडौँमा वर्षाको पानीलाई सकेसम्म जमिनमै पुनर्भरण गर्ने उद्देश्यले रेन वाटर हार्भेस्टिङ तथा रिचार्जका कार्यक्रम सञ्चालन गरिने उनले बताइन् ।

अहिले गर्न सकिने कामबाटै समाधानको सुरुवात गर्नुपर्ने भन्दै डंगोलले ‘रिचार्ज काठमाडौं’ अभियान अघि बढाउन लागिएको जानकारी दिइन् । उनका अनुसार सहरी बाढीको दीर्घकालीन समाधानका उपायबारे भइरहेको अध्ययनका आधारमा थप कार्यक्रम सञ्चालन गरिनेछ।