
गोरखा । गोरखाको पालुङटार नगरपालिका-४ छापथोकस्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
आइतबार बिहान करिब साढे ९ बजे बडडाँडाबाट ठाँटीपोखरीतर्फ जाँदै गरेको ग १ प्र ०३-००१ ह ०२१० नम्बरको अटो सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा पालुङटार नगरपालिका-४ की ४८ वर्षीया पर्मिला जिसी, ४५ वर्षीया गीता श्रेष्ठ र २० वर्षीया प्रगती श्रेष्ठ तथा पालुङटार-५ की ३१ वर्षीया मेनुका गिरी घाइते भएका छन् ।
प्रहरीका अनुसार घाइते चारै जनाको अवस्था मध्यम रहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।